दश महिनामा कालोसूचिबाट हटाउने लक्ष्य

  • 29 मार्च 2014
तस्वीर कपीराइट AP
Image caption युरोपेली सघले नेपाली विमानहरुलाई आफ्नो देशमा उडान भर्न प्रतिबन्ध लगाएको छ

नेपालको हवाई सेवालाई युरोपेली संघको कालोसूचि भन्ने गरिएको सुरक्षा सतर्कता सूचिबाट हटाउनका लागि विमानचालकहरुलाई थप तालिम उपलब्ध गराउने सहितका कदमहरु चाल्न लागिएको अधिकारीहरुले बताएका छन्।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १० महिने कार्ययोजना सार्वजनिक गर्दै सन् २०१४ को सेप्टेम्बर ३० तारेखसम्ममा हवाई सञ्चालन प्रमाणीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

अन्तराष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ)ले पनि नेपाली हवाइ क्षेत्रको समस्या बारे अध्ययन गरिरहेको र त्यसले आगामी जूनमा तयार पार्ने प्रतिवेदनका आधारमा सुधारका निम्ति थप कदमहरु चाल्ने सरकारी भनाई छ।

योजना

बारम्बार विमानहरु दुर्घटना हुन थालेपछि नेपालको हवाई सेवा असुरक्षित रहेको भन्दै युरोपेली संघले पाँच महिनाअघि नेपाललाई आफ्नो कालो सुचीमा राखेको थियो।

कार्ययोजना सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा बोल्दै पर्यटनमन्त्री भीम आचार्यले सन् २०१५ को जनवरी महिनासम्म सो सूचिबाट हटाउनका लागि आवश्यक सबै काम सम्पन्न गरिसक्ने बताए।

उनले भने, “हवाई सुरक्षालाई मन्त्रालयले पहिलो प्राथमिक्तामा राखेको छ, पाइलट सहित इन्जिनियरीङ्ग विभागका कर्मचारीहरुलाई विशेष तालिम दिने र श्रोत साधानहरु उपलब्ध गराएर क्षमता अभिभृद्धि गर्ने सरकारको तयारी छ।”

हालै काठमान्डूको भ्रमण गरेको युरोपेली संघको टोलीले नेपाली हवाई सेवालाई तत्काल सुरक्षा सतर्कता सुचीबाट हटाउन नसकिने बताएपछि आवश्यक सुधार गर्न सरकार तातेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त सूचिबाट हटाउनका लागि केही कामको थालनी गरिसकेको छ प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लाल सुमन बताउँछन्।

उनी भन्छन्, “आइकाओले नेपालको पाइलटको तालिम पर्याप्त नभएको बताउँदै आएको छ र जूनसम्ममा अनुसन्धानको प्रतिवेदन बुझाउने भनेको छ, त्यसपछी हामी थप योजना बनाउछौं।”

युरोपेली संघले नेपाली हवाई सेवालाई सुरक्षा सतर्कता सूचिमा राखेपछि त्यसको असर पर्यटन व्यवसायमा देखिन थालेको अधिकारीहरुले नै स्विकार्दै आएका छन्।