'पाँच वर्षमा २२ वटा विमान ल्याइने'

  • 29 मार्च 2014
तस्वीर कपीराइट na
Image caption जहाजको अभावमा नेपाल वायु सेवा निगमले आन्तरिक प्रतिस्पर्द्धा पनि गर्न सकेको छैन

विमान नभएर पर्याप्त अन्तर्राष्ट्रिय र आन्तरिक उडान भर्न नसकेको नेपाल वायु सेवा निगमका निम्ति सरकारले आउँदो पाँच वर्षमा साना र ठूला गरी २२ वटा जहाज ल्याउने सरकारका एक मन्त्रीले बताएका छन्।

त्यसका लागि मन्त्रालयले ५ वर्षीय योजना अघि बढाईसकेको पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले जनाए।

उनले भने, ‘’सन् २०१९ सम्मको एउटा योजना बनाएका छौं। जसअनुसार अन्तर्राष्ट्रिय उडानका लागि ७ वटा र आन्तरिक उडानका लागि १५ वटा नयाँ जहाज थपिने छ।‘’

आचार्यले नेपाल वायु सेवा निगमका बिग्रेका २ वटा जहाज केही महिनाभित्र बनाईने र भाडामा इञ्जिन लिएर उडान भर्दै आएको अर्को जहाजको पनि इञ्जिन फेरिने बताए।

जहाज

उनका अनुसार एक महिनाभित्र एउटा सानो र ठूलो गरी दुई वटा र त्यसपछि थप ३ वटा जहाज चीनबाट ल्याइने छ।

मन्त्री आचार्यले अप्रिल महिनासम्ममा नेपाल वायु सेवा निगमको व्यापारिक योजना तयार पारिसक्ने पनि बताए।

सन् २०१९ सम्ममा राष्ट्रिय ध्वजावाहकलाई पूर्ण व्यवसायिक वायु सेवा बनाइने अधिकारीहरुको भनाइ छ।

यसअघि आचार्यले नेपालको हवाइ सेवालाई युरोपेली संघको कालो सूचि भन्ने गरिएको सुरक्षा सतर्कता सूचिबाट हटाउन शुक्रबार १० महिने कार्ययोजना सार्वजनिक गरेका थिए।