‘डढेलो नियन्त्रण प्रयास शुरु’

  • 31 मार्च 2014
वनमा आगलागी
Image caption वन विभागका अनुसार सबै जसो जिल्लामा जापान सरकारले दिएको डढेलो नियन्त्रणका उपकरण पठाइएको छ

हुरी बतासको मौसम शुरु भए संगै नेपालका कयौ वन-जंगलमा फेरि डढेलो लागेका खबरहरु आइरहेको बेला वन विभागले सबै जसो जिल्लामा डढेलो नियन्त्रणको लागि सामाग्री पठाई सकिएकोले यसपटक डढेलो नियन्त्रण प्रभावकारी हुने जनाएको छ।

वन विभागका अधिकारीहरुको भनाइमा सुख्खा यामसंगै वन-जंगलमा डढेलो लाग्ने क्रम बढेको छ तर यसपटक देखि सबैजसो जिल्लामा डढेलो नियन्त्रणको लागि आवश्यक सामाग्रीहरु पठाइएको छ।

वन विभागका उपमहानिर्देशक गौरीशंकर तिमलाले अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष वन-जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्ने काम बढि प्रभावकारी हुने बताए।

सहयोग

“हामीले डढेलो नियन्त्रणको निम्ति पानी ट्याङ्कीहरु पिकअप ट्रकहरु जस्ता सामानहरु जिल्ला जिल्लामा पठाइसकेका छौं, त्यसैले डढेलो नियन्त्रण गर्ने काम प्रभावकारी हुने आशा गरेका छौं।”

उनका अनुसार विकट केही जिल्ला बाहेक सबैजसो जिल्लामा जापान सरकारले दिएको डढेलो नियन्त्रणका उपकरण पुगेको छ।

चैत महिना सुरु भए संगै सुख्खा बढ्ने हुनाले प्रत्येक वर्ष वन-जंगलमा डढेलोका घटना बढ्ने गर्छन्।

नेपालमा झण्डै ४० प्रतिशत भूमी वनले ओगटे बताइन्छ तर डढेलोबाट वनलाई जोगाउने तयारी भने कमजोर रहेकोले वर्षेनी अमुल्य वनस्पति र बन्यजन्तु नास हुदै गएको विज्ञहरु बताउछन्।

राष्ट्र संघीय संयन्त्र प्रकोप न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय रणनीतिले तयार गरेको आँकडा अनुसार दशक यता सबैभन्दा बढि सन् २००९मा नेपालमा डढेलोले क्षति भएको थियो।

क्षति

जस अनुसार त्यसबेला झण्डै डेढ लाख हेक्टर वन जलेको थियो भने आगलागीका कारण ४९ जनाले ज्यान गुमाएका थिए।

चार वर्ष अघि रामेछापमा जंगलमा लागेको आगो नियन्त्रणमा लिने क्रममा १३ जना सैनिकको जलेर मृत्यु भएको थियो।

डढेलो नियन्त्रणको लागि प्रत्येक जिल्लामा पचास हजार देखि डेढ लाख रुपैयाँ सम्म बजेट छुट्याईएको वन मन्त्रालयले जनाएको छ।

तर यो बजेट अग्नि नियन्त्रणको लागि पर्याप्त नभएको अधिकारीहरुको गुनासो छ।