युक्रेन संकटबारे अमेरिका र रुसबीचको वार्ता निष्कर्षहीन

  • 31 मार्च 2014
अमेरिका र रुसका विदेशमन्त्री तस्वीर कपीराइट RIA Novosti
Image caption यूक्रेन संटको कुटनीतिक सुलह खोज्न दुबै देश सहमत देखिन्छन्

अमेरिका र रुसका विदेशमन्त्रीबीच यूक्रेन संकटबारे फ्रान्समा भएको वार्ता विना कुनै सहमति सकिएको छ।

अमेरिकी विदेश मन्त्री जोन केरीले रुसी समकक्षी सर्गेइ लाभ्रोभसँगको चारघण्टा लामो छलफल, उनकै शब्दमा खुला मनले भएको बताए।

दुबै पक्ष कुटनीतिक सुलहको खोजीप्रति प्रतिवद्ध छन्।

केरीले आफूले लाभ्रोभसँग क्राइमियामा रुसको कदम गैरकानूनी र अवैधानिक भएको अमेरिकाको दृष्टीकोण दोहर्याएको जानकारी दिए।

अस्वीकार्य

यूक्रेनको संलग्नताबिना युक्रेनको भविष्यबारे निर्णय नलिइनेमा उनले जोड दिएका थिए।

पेरिसमा आयोजित पत्रकार सम्मेलनमा केरीले भने, “संयुक्त राज्यले यो प्रकृयाबारे हरेक कदममा युक्रेनसँग परामर्श गरिरहेको छ, युक्रेनको वैध सरकार अनुपस्थित टेबुलको अग्रसरता हामीलाई स्वीकार्य हुनेछैन, युक्रेन विना युक्रेनबारे कुनै निर्णय हुन सक्दैन।”

युक्रनेको सीमानामा रुसी फौजको भारी उपस्थितिले त्यहाँ भय र आतंको वातावरण सृजना गरेको भन्दै आफूले कडा सरोकार दर्शाएको जनाए।

उनको भनाई थियो, "वार्तामा सार्थक प्रगति त्यसबेला मात्र हुनसक्छ जव ठूलो संख्याको यूक्रेनको सीमामा तैनाथ रुसी सैनिक त्यहाँबाट हटाइन्छन्।"

संघीयता

रुसी विदेशमन्त्री लाभ्रोभले कुनै पनि किसिमको हमलाको योजना अस्वीकार गरेका छन्।

उनले भने, "विदेशमन्त्री केरी र म युक्रेनका रुसी भाषिहरुको अधिकार रक्षाका साथै गैरकानूनी शक्तिलाई निशस्त्र बनाउन युक्रेनी सरकारका साथ काम गर्न सहमत भएका छौं।"

उनले संघीय र निष्पक्ष युक्रेनको प्रस्ताव राखेका थिए।

यूक्रेनले भने मुलुक विखण्डित पार्ने प्रयास भन्दै आक्रोशित रुपमा त्यसको भर्त्सना गरेको छ।

दुई देशका राष्ट्रपतिबीचको फोनावार्तापछि विदेशमन्त्रीहरुबीच कुराकानी भएको थियो।