‘धारणा राख्न इन्टरनेट असुरिक्षत स्थान’

  • 1 एप्रिल 2014
internet तस्वीर कपीराइट bbc
Image caption इन्टरनेटले स्वतन्त्रतासंगै निगरानी पनि निम्त्याएको धेरैले धारणा राखेका छन्

बीबीसी विश्वसेवाका लागि गरिएको एउटा अन्तर्राष्ट्रिय सर्वेक्षणमा भाग लिएका आधाभन्दा बढी मानिसले आफ्ना धारणा राख्नका लागि इन्टरनेट सुरक्षित स्थान नभएको बताएका छन्।

सर्वेक्षणका उत्तरदाताहरुमध्ये ५२ प्रतिशतले इन्टरनेट, आफ्नो धारणा राख्न सुरक्षित स्थान नभएको प्रतिक्रिया दिएका हुन्।

ग्लोबस्कयान नामक अन्तर्राष्ट्रिय अनुसन्धान परामर्शदाताले युरोप, अमेरिका तथा एसियाका विभिन्न १७ वटा मुलुकका १७ हजार मानिससंग डिसेम्बर २०१३ देखि फेब्रअरी २०१४ सम्म उनीहरुको राय मागेको थियो।

तर ४० प्रतिशतले भने इन्टरनेट सुरक्षित स्थान भएकोप्रति सहमति जनाएका छन्।

यो विषयमा मत विभाजित देखिएपनि इन्टरनेटले स्वतन्त्रता ल्याएकोमा भने अधिकांशले सहमति जनाएको देखिएको छ। कुल उत्तरदातामध्ये ६७ प्रतिशतले सहमति जनाएकोमा २५ प्रतिशत मात्रै त्यसको विपरीत धारमा उभिएका छन्।

निगरानी

अर्को रोचक तथ्य इन्टरनेटमाथिको सरकारी निगरानीसम्बन्धमा देखिएको छ।

ती १७ मुलुकका तीनमध्ये एक जना नागरिकले इन्टरनेटमाथिको सरकारी निगरानी र अनुगमनबाट आफूहरुले स्वतन्त्र महसुस नगरेको बताएका छन्।

त्यस्तो धारणा राख्नेमा अधिकांश अमेरिकी र जर्मन देखिएका छन्।

जबकि इन्टरनेटमाथि कडाइ अपनाउने भनिएको चीनका ७६ प्रतिशतभन्दा बढी उत्तरदाताले आफूहरुले सरकारी निगरानीबाट स्वतन्त्र महसुस गरेको धारणा राखेका छन्। यो मामिलामा इण्डोनेसिया र रुसले चीनलाई पछ्याएका छन्।

प्रेस

तस्वीर कपीराइट Getty
Image caption अमेरिकाले विश्वभर फोन संवाद तथा इमेलहरुको जासुसी गरेको भन्दै व्यापक आलोचना भएको थियो

सम्बन्धित मुलुकमा प्रेस स्वतन्त्रतामा कमी आएको भन्ने आशयका धारणा धेरैले सर्वेक्षणका क्रममा राखेका छन्।

विभिन्न आठ मुलुकमा सन् २००७ र २०१४ मा गरिएका अलग अलग सर्वेक्षणको तुलना गर्दा ती मुलुकका सञ्चारमाध्यमले स्वतन्त्रतापूर्वक सही, विश्वसनीय र तथ्यपरक समाचार सम्प्रेषण गर्न नसकेको धारणा उत्तरदाताहरुले राखेका छन्।

त्यस्तो महसुस गर्नेको संख्या करिब एक तिहाइले घटेको सर्वेक्षणमा उल्लेख छ।

अन्य

आफूले रोजेको धर्म अभ्यास गर्न पाउने स्वतन्त्रता उच्च रहेको ८७ प्रतिशत उत्तरदाताले बताएका छन्।

८६ प्रतिशतले आफूले चाहेको वा रोजेको व्यक्तिसंग विवाह गर्न वा उसंगै बस्न स्वतन्त्रता महसुस गरेको प्रतिक्रिया दिएका छन्।

७५ प्रतिशतले कुनै मामिलामा सार्वजनिक रुपमा बोल्न आफूहरुले स्वतन्त्रता महसुस गरेको बताएका छन्।