‘युक्रेनी सीमाबाट आंशिक रुपमा रुसी सैन्य फिर्ता’

  • 1 एप्रिल 2014
रुसी फौज तस्वीर कपीराइट n
Image caption रुसले युक्रेनको सीमा क्षेत्रमा परिचालित सेनाले सैन्य अभ्यासमा सरिक रहेको बताउने गरेको छ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोका सेनाको उपस्थिति बाक्लिन थालेको युक्रेनी सीमा क्षेत्रबाट रुसले आफ्नो सेना आंशिक रुपमा फिर्ता बोलाएको घोषणा गरेका छन्।

राष्ट्रपति पुटिनले जर्मनीकी चान्सलर एन्गेला मर्कलसंगको टेलिफोन कुराकानीका क्रममा त्यस्तो घोषणा गरेको जर्मन सरकारका एक प्रवक्ताले बताएका छन्।

तर त्यस्तो समाचारप्रति युक्रेनी र अमेरिकी अधिकारीहरु ढुक्क भइसकेका छैनन्।

अस्पष्ट

जर्मन सरकारका एक प्रवक्ताका अनुसार मर्कलसंगको कुराकानीका क्रममा पुटिनले रुसी सेनाको एक लडाकू गण फिर्ता गरिएको बताएका छन्।

अमेरिकाको भनाइमा युक्रेनी सीमामा अझै पनि दशौ हजार रुसी सेना तैनाथ छन्।

कति संख्यामा रुसी सेना फिर्ता गरिएको हो भन्ने प्रष्ट छैन।

रुसी सेनाको एक गणमा तीन हजारदेखि एक हजार सैनिकहरु रहने गर्छन्।

खेल

बीबीसीका जनाथन मार्कस भन्छन्, “त्यस क्षेत्रमा अझै पनि ४० हजार जति रुसी फौज रहेकाले केही सय रुसी सेना फिर्ता भएर कुनै फरक पर्दैन।”

युक्रेनले पछिल्लो समचारलाई रुसी प्रचारबाजी र रुसी सेनाको खेल हुन सक्ने बताएको छ।

यस अघि युक्रेनले रुसी प्रधानमन्त्री दिमित्रि मेदभेदेव नेतृत्वको मन्त्रीहरुको टोलीले क्राइमिया भ्रमण गर्ने कदमको तिब्र आलोचना गरेको थियो।

किएभमा एक अधिकारीले त्यसबारे रुससंग एक पत्रमार्फत आपत्ती जनाइएको बताएका छन्।