सहकारी संस्थाहरुमा अनियमितता बढेको गुनासो

  • 3 एप्रिल 2014
बचतकर्ताको पैसा डुबाएको आरोप लागेको एउटा सहकारी संस्था
Image caption सहकारीमा आबद्ध सदस्यहरु सचेत भए बेथिति कम हुन सक्ने सहकारीका विज्ञहरुको भनाइ छ

बिहिबार राष्ट्रिय सहकारी दिवस मनाइदैछ तर देशका विभिन्न शहरहरुमा सहकारी संस्थाहरुबाट ठगी भएको भन्ने उजुरीहरुको चाङ लाग्ने गरेको छ।

सहकारी संस्थाहरुले बैंकहरुले जस्तै कारोबार गर्दा पनि कारवाही नहुदा समस्या उत्पन्न भएको अधिकारीहरु स्वीकार्छन्।

राजधानी काठमाण्डौ लगायत देशका धेरै ठाउँका सहकारी टाट पल्टेर सर्वसाधारणको पैसा डुबाएको खबरहरु आउने गरेका छन्।

सहकारी विभागका अधिकारीहरु भन्छन् सहकारीहरु विग्रनुमा बैंकहरुले गर्ने जस्तै उनीहरुले गर्ने वित्तीय कारोबार एउटा प्रमुख कारण हो, जुन सहकारी ऐन विपरीत भएको अधिकारीहरु बताउँछन्।

चारपाने झापामा रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक महेन्द्र गिरी सहकारीहरुले बैंकहरुले जस्तै वित्तीय कारोबार गरिरहेको हुन सक्ने ठान्छन् ।

“बचत खाता, मुद्दती खाता लगायत विभिन्न नाममा तीन बर्ष भन्दा बढी समयका पनि खोलिएका हुन सक्छन्।”

नियम विपरित

सहकारीको सिद्धान्त विपरीत काम गरेका कारण झापाको गरिबी न्यूनिकरण बचत तथा ऋण सहकारी संस्था टाट पल्टेर बचतकर्ताहरुको करीब १० करोड रुपैयाँ डुबेको डिभिजन सहकारी कार्यालय झापाले जानकारी दिएको छ।

सहकारीका ज्ञाताहरु भन्छन् सहकारीहरु डुब्ने गरेको एउटा प्रमुख कारण उनीहरुले गर्ने गरेको बैंकिङ कारोबार हो।

डिभिजन सहकारी कार्यालय झापाका प्रमुख नेत्रप्रसाद घिमिरेले भने, “सहकारीहरु भनेका बैंक होइनन्, उनीहरुले बैंकहरुले जस्तो कारोवार गर्न पाउँदैनन्, तर सहकारीले बैंकहरुलाई नै चुनौती दिँदै कारोवार गर्दै आएका छन्।”

सहकारी विभागका अधिकारीहरु भन्छन् सहकारी ऐन २०४८ ले सहकारीहरुले विभिन्न नाममा मुद्दती खाताहरु सञ्चालन गर्न, चेकबाट कारोबार गर्न, शाखा कार्यालयहरु विस्तार गर्न, गैरसदस्यमा कारोबार गर्न बर्जित गरेको छ।

तर ठूला भनिएका सहकारीहरुले उक्त कामहरु गर्दै आएका छन्, जस्ले गर्दा सर्वसाधारणको पैसा जोखिममा परेको सहकारीकर्मीहरु नै स्वीकार्छन्।

बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारी भन्छन्, “सहकारीका सदस्यहरुमा मात्र कारोवार भइदिए जोखिम न्यूनिकरण हुन्छ नै।”

कमजोरी

सहकारीहरुलाई नियमन गर्ने सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेका अनुसार सहकारी ऐन कमजोर भएका कारण धेरै सहकारीका सञ्चालकहरुले त्यस्को फाइदा लिएका हुन्।

“सहकारी ऐन बनाउँदा यस्तो स्थिति आउला भन्ने भएन, त्यस्को फाइदा सिमित व्यक्तिहरुले लिए।”

सहकारी ऐनमा गलत काम गर्ने सहकारीलाई पन्ध्र सय रुपैयाँ जरिमाना गर्ने प्रावधान छ, जुन अत्यन्तै थोरै भएको सहकारी विभागका रजिस्ट्रार न्यौपाने बताउँछन्।

सहकारीमा आबद्ध सदस्यहरु यो विषयमा सचेत भए बेथिति कम हुन सक्ने सहकारीका विज्ञहरुको भनाई छ।