अफगानिस्तानमा मतदान सम्पन्न

  • 5 एप्रिल 2014
Image caption चुनावअघि भएका हिंसाले शनिबारको मतदानलाई छाँयामा पारेको छ

लोकतन्त्रिक विधिबाट सरकार निर्वाचित गर्ने पहिलो प्रयास अन्तर्गत अफगानिस्तानमा दशौं लाख मतदाताले शनिबार नयाँ राष्ट्रपति चुन्न मतदान गरेका छन्।

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगका अधिकारीहरुले प्रारम्भिक अनुमान अनुसार झण्डै सत्तरी लाख मतदाताले मतदान गरेको जनाएको छ।

जुन कूल मतदाता संख्याको ५८ प्रतिशत हो।

राष्ट्रपति हमिद कारजाईँलाई तेश्रो कार्यकाल सत्ता सम्हाल्न संविधानले बन्देज लगाएपछि उनको उत्तराधिकारी बन्ने दौडमा ८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

तालिबानले चुनाव बहिस्कार गर्दै त्यसलाई विथोल्न श्रृखंलाबद्ध गतिविधि गरेपछि देशभर कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।

बन्दोबस्ती

सुरक्षाका लागि लाखौं सुरक्षाकर्मी परिचालन गरिएको छ, जसलाई १३ बर्ष अघि तालिबानको शासन ढलेयता कै सबैभन्दा ठूलो सैन्य कार्वाही भनिएको छ।

करीव ४ लाख सैनिक र प्रहरीलाई मतदाता र मतदान केन्द्रको सुरक्षामा खटाइएको छ।

तर मतदानलाई दुई जना विदेशी पत्रकारमाथी शुक्रबार भएको गोली प्रहारले छायाँमा पारेको छ।

पूर्वी शहर खोष्टमा एक जना प्रहरी अधिकृतले उनीहरु सवार कारमा गोली चलाउँदा पुरस्कार विजेता जर्मन पत्रकार आन्या निडरिङहावसको ज्यान गएको छ।

उनकी साथी, चर्चित क्यानडाली पत्रकार क्याथी ग्यानन, घाइते भएकी छन्।

प्रयास

अफगान सरकारले सुरक्षा व्यवस्था प्रति मतदाताहरुलाई आश्वस्त पार्ने प्रयास गरेको छ।

गृहमन्त्रालयका एक जना प्रवक्ताले बीबीसीलाई भने, “हामी मानिसहरुलाई देशभर मिलाइएको सुरक्षा व्यवस्था प्रति विश्वस्त हुन र केही दिन यता तालिबानहरुले दिदैँ आएको धम्कीबाट नडराइ चुनावमा भाग लिन आग्रह गर्छौ।”

शुक्रबार दिउँसोबाट नै सवारी साधनहरुलाई राजधानी काबुलमा प्रवेश गर्न निषेध लगाइएको छ।

मतदानको समयमा चुनावी प्रचार प्रसार नियन्त्रण गर्न शनिबार साँझसम्मका लागी मोबाइलबाट सन्देशहरु पठाउने सेवा पनि बन्द गरिएको छ।

कडा सुरक्षा घेरा र फर्जी मत नियन्त्रण गर्न अपनाइएका नयाँ उपायहरुका कारण चुनाव केही स्वच्छ हुने अन्तराष्ट्रिय पर्यवेक्षकहरुले आशा गरेका छन्।

चिन्ता

तर मतपत्रबाट धाँधली र फर्जी मतदान केन्द्रहरु खडा गरिने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ।

काबुलमा रहेका बीबीसीका विश्वमामिला सम्वाददाता पल एडम्स भन्छन्,खतरा मोलेरै भएपनि अफगानीहरु भोट हाल्न प्रतिबद्ध देखिएका छन्।

यसचोटी पहिलो पटक अफगानी चुनावमा सामाजिक सञ्जालको प्रयोग गरिएको र चुनावी अभियानमा पनि मतदाताहरुको अभूतपूर्व सहभागिता देखीएको हाम्रा सम्वाददाताले जनाएका छन्।

हालै गरिएको एउटा सर्भेक्षणमा सहभागी भएका मध्ये ७५ प्रतिशतले मतदान गर्न जाने बताएका थिए।