मन्त्रीपदका लागि आफन्त सिफारिसप्रति असन्तुष्टी

  • 7 एप्रिल 2014
संविधान सभा
Image caption संविधानसभामा समानुपातिकतर्फ सभासदको मनोनयन गर्दा आफन्तहरु छानिएको विषय पनि विवादित भएको थियो

नजिकका नातेदारहरुलाई मन्त्री बनाउन सिफारिस गरिएको विषय आलोचनाको घेरामा परेको बेला सरकारमा सहभागी हुन लागेको एक दलका प्रमुख नेताले आफ्नो एक नातेदारलाई नाताको आधारमा नभएर योग्यताको आधारमा मन्त्री पदको निम्ति सिफारीस गरिएको भन्दै बचाउ गरेका छन्।

सुशील कोइराला नेतृत्को मन्त्रिपरिषदको विस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेका सदस्यहरु समावेस हुन लागेको बताइएको छ।

आपूर्ति मन्त्रालय सम्हाल्ने गरि राप्रपाले पार्टी अध्यक्षका छोरा र अर्का एक नेताले आफ्नी श्रीमतीलाई नै महिला मन्त्रालय सम्हाल्न सरकारमा पठाउन लागेको भन्दै आलोचना भएको छ।

असन्तुष्टी

राप्रपाका एक नेता डाक्टर प्रकाशचन्द्र लोहनीले ठुला नेताले मन्त्री बनाउन आफु खुसी नाम पठाएको भन्दै असन्तुष्टी पोखे।

“वैधानिक रुपमा गरिएको निर्णय होइन अध्यक्षजीको निर्णय हो, यो पार्टीको नियम विपरितको निर्णय हो, यसो गर्न मिल्दै मिल्दैन।”

सरकारमा सहभागी हुने अर्को दल नेकपा मालेले पनि उक्त पार्टीका महासचिवकी पत्नीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय सम्हाल्ने गरी नाम सिफारिस गरेको भन्दै टिका टिप्पणी भईरहेको छ।

तर महासचिव सिपी मैनाली भने आफ्नी पत्नी भएकोले नभई, योग्यताको आधारमा नाम सिफारीस गरीएको दावी गर्छन्।

“मेरो श्रीमती भएको नाताले होइन उहाँ नेकपा मालेको पोलिटब्युरो सदस्य हो २०२७ सालदेखि आन्दोलन गर्ने आन्दोलनकर्मी हो।

"उनले पार्टीलाई पुर्याएको योगदानको आधारमा उनलाई मन्त्रीपदका लागि सिफारिस गरिएको हो।”

हालको संविधानसभामा पनि समानुपातिकतर्फ सभासदको मनोनयन गर्दा नेताहरुले आफ्नी पत्नी र नजिकका अन्य नातेदारहरुलाई मनोनित गरेको भन्दै उनीहरुको ब्यापक आलोचना भएको थियो।