युक्रेनमा थप हस्तक्षेप नगर्न नेटोको चेतावनी

  • 8 एप्रिल 2014
तस्वीर कपीराइट na
Image caption युक्रेनको क्राइमिया क्षेत्रलाई आफूमा गाभेको भन्दै अन्तर्राष्ट्रिय समुदायले रुसको आलोचना गरेको छ

यूक्रेनमाथि उसले गर्ने कुनैपनि थप हस्तक्षेप ऐतिहासिक भूल हुने र त्यसले कठोर परिणाम निम्त्याउने भन्दै उत्तर एटलान्टिक सन्धी संगठन नेटोले रुसलाई चेतावनी दिएको छ।

त्यस्ता सम्भावित रुसी कदमले मस्कोलाई थप एक्ल्याउने नेटोको भनाई छ।

सो संगठनका महासचिव आनर्स फ रासमुस्सेनले यूक्रेनी सीमामा तैनाथ दशौं हजार रुसी सैनिकलाई क्रेमलीनले तत्काल फिर्ता बोलाउनु पर्ने बताएका छन्।

नेटोका महासचिव रासमुस्सेनले रुसले यूक्रेन सीमामा गरेको गतिविधिलाई लिएर निकै कडा टिप्पणी गरेका छन्।

रुस समर्थक पृथकतावादीहरुको जत्थाले पूर्वी यूक्रेनको शहर खार्किभमा केही क्षेत्रिय प्रशासनिक भवनहरु नियन्त्रणमा लिएपछि उनको त्यस्तो टिप्पणी आएको छ।

नियन्त्रण

उनले भनेका छन्, “यूक्रेनको विरुद्ध रुसद्वारा गरिएको अवैध बलमिच्याईँ यूरोपको सुरक्षाप्रति पछिल्लो पुस्तामा देखिएको सबभन्दा ठूलो चुनौति हो। म रुसलाई पछि हट्न र पूर्वी यूक्रेनको अवस्था विग्रन नदिन भन्दछु।”

मंगलबार यूक्रेनका अधिकारीहरुले भनेका छन्, 'खार्किभ शहरका सरकारी भवनहरुलाई उनीहरुले रुस समर्थक पृथकतावादी जत्थाको नियन्त्रणबाट खोस्न सफल भएका छन्।'

सोमबार रुसी समर्थक त्यस्ता जत्थाले पूर्वी यूक्रेनका खार्किभ सहित लुहान्सक र डोनेत्सक गरी तीन शहरमा त्यसरी कब्जामा लिएका भवनहरु छिट्टै आफुले नियन्त्रणमा लिने कियभका अधिकारीहरुले बताएका छन्।

रुसले हालै यूक्रेनको क्राइमियालाई आफूमा गाभेको छ।

त्यहाँ भएको जनमतसंग्रहको परिणामलाई देखाउँदै मस्कोले क्राइमियाको विलय गराएको थियो।

तर कियभ तथा पश्चिमा जगतले उक्त जनमतसंग्रह अवैध भएको बताएका छन्।

आरोप

हाल यूक्रेनको पूर्वी क्षेत्रस्थित सीमापार मस्कोले हजारौं सैनिक तैनाथ गरेको छ।

हुन त उसले यूक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नभएको बताएको छ तर मस्कोले ती क्षेत्रमा रहेका रुसी समुदायका मानिसहरुको सुरक्षा गर्ने आफ्नो अधिकार सुरक्षित रहेको पनि बताएको छ।

दुवै पक्षबीच चर्किएको तनावका माझ रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोभले पश्चिमा जगतलाई वित्थामा स्थिति भड्काएको आरोप लगाएका छन्।

ब्रिटेनको गार्डियन पत्रिकाको वेबसाइटमा एक लेख लेख्दै उनले रुसी समर्थक प्रदर्शनकारीहरुमाथि शक्ति प्रयोग नगर्न कियभलाई चेतावनी दिएका छन्।

मंगलबार रुसी विदेश मन्त्रालयले यूक्रेनी विशेष फौजको पोशाक लगाएर एउटा निजी सुरक्षा निकायमार्फत भाडाका अमेरिकी लडाकूहरु यूक्रेनले परिचालन गरेको आरोप लगाएको छ।

तर त्यसको पुष्टि हुन नसकेको डोनेत्सक स्थित बीबीसी संवाददाताले जनाएका छन्।