युक्रेन संकटबारे चौपक्षिय वार्ता हुने

  • 9 एप्रिल 2014
तस्वीर कपीराइट AFP
Image caption पूर्वी युक्रेनको डोनेट्स्कका सरकारी भवनहरु रुस समर्थक प्रदर्शनकारीहरुले कब्जा गरेका छन्

युक्रेनको बिग्रदो अवस्थाबारे आगामी हप्ता युरोपेली संघ (इयू), रुस, अमेरिका र युक्रेनका वरिष्ठ अधिकारीहरुले युरोपमा छलफल गर्ने भएका छन्।

पहिलो पटक हुन लागेको सो चौपक्षिय वार्ता गर्ने जानकारी पूर्वी युक्रेनमा जारी तनावले खराब परिणाम निम्त्याउन सक्ने उत्तर एटलान्टीक सन्धी संगठनको चेतावनी पछि आएको हो।

रुस समर्थक प्रदर्शनकारीहरुले पूर्वी युक्रेनको डोनेट्स्कका क्षेत्रिय सरकारी कार्यलयहरु कब्जा गरेपछी पश्चिमा राष्ट्रले रुस विरुद्ध थप प्रतिबन्धहरु लगाउने चेतावनी दिएका छन्।

वार्ता

इयुकी विदेश मामिला प्रमुख क्याथरीन एस्टनसँगै उक्त छलफलमा अमेरिकी विदेशमन्त्री जन केरी, उनका रुसी समकक्षी सार्गेइ लाभ्ररोव र युक्रेनका विदेशमन्त्री एन्ड्री डेशचेतस्या सहभागी हुने बताइएको छ।

आगामी हप्ता हुने छलफलको समय र स्थान खुलाइएको छैन् तर एक जना इयु अधिकारीले सो वार्ता युरोपमा हुने जनाएका छन्।

अमेरिकी विदेशमन्त्री जन केरीले वार्ता हुने पूष्टी गर्दै पूर्वी युक्रेनमा भैरहेका प्रदर्शनहरुमा रुस जिम्मेवार रहेको आरोप लगाएका छन्।

उनले रुसी एजेन्टहरुले त्यहाँ भद्रगोल खडा गरिरहेको स्पष्ट र ज्यादै डरलाग्दा प्रमाणहरु रहेको बताए।

मस्कोले त्यहाँ सैनिक हस्तक्षेपको योजना बनाएको हुनसक्ने भन्दै केरीले थप कडा प्रतिबन्धहरु लगाएर रुसी अर्थतन्त्रमाथी आक्रमण गर्न वासिङटन तयार रहेको जनाए।

केरीले भने, “संयुक्त राज्य अमेरिका र हाम्रा साझेदारहरु २१औं शताब्दीका साधानहरु प्रयोग गरेर १९ औ शताब्दीको जस्तो कदमको लागी रुसलाई जवाफदेहि बनाउन हिच्किचाउने छैनौं।”

तनाव

रुस समर्थक प्रदर्शनकारीहरुले डोनेट्स्कमा रहेको क्षेत्रीय सरकारी कार्यलयहरु कब्जा गरेर त्यहाँ रुसी झन्डा फहराएपछि तनाव चर्कीएको छ।

प्रदर्शनकारीहरुले युक्रेनबाट अलग हुनका लागी जनमत संग्रह गरिनुपर्ने माग गरेका छन्।

युक्रेनका कार्यवाहक विदेशमन्त्रीले सो शहरमा एउटा सानो समूहले अस्थीरता निम्त्याउने प्रयास गरिरहेको र तीनीहरु मध्ये अधिकांश रुसबाट आएको बताएका छन्।

रुसले गएको फेब्रुअरिमा क्राइमियालाई आफूमा गाभ्दै युक्रेनसँगको पूर्वी सीमामा सैन्य उपस्थिति व्यापक बढाएको छ।

किएभ र अमेरिकाले मस्कोलाई रुसी भाषा बोलिने युक्रेनी भुभाग कब्जामा लिन सो क्षेत्रमा अशान्ति फैलाएको आरोप लगाउने गरेका छन् जसलाई रुसले कडा प्रतिवाद गर्ने गरेको छ।

चेतावनी

रुस समर्थक युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई अपदस्थ गर्ने किएभको निर्णयलाई मस्कोले मान्यता दिएको छैन्।

मंगलवार उत्तर एटलान्टीक सन्धी संगठन (नेटो)ले युक्रेनमा थप रुसी हस्तक्षेप ऐतिहासीक गल्ती हुने भन्दै त्यसको खराब परिणाम निस्कने चेतावनी दिएको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले युक्रेनमाथि नियन्त्रण जमाउने रुसी योजना नरहेको भन्दै त्यहाँ बसोबास गरिरहेका रुसी भाषीहरुको स्वार्थको रक्षा गरिरहेको बताउने गरेका छन्।

रुसले प्रदर्शनकारीमाथी दमन गरे युक्रेनमा गृहयुद्ध निम्त्न सक्ने चेतावनी दिएको छ।