भारतको आम चुनावको महत्वपूर्ण दिन

  • 10 एप्रिल 2014
तस्वीर कपीराइट Reuters
Image caption तेश्रो चरणको मतदान राजधानी दिल्ली सहित १४ वटा राज्यमा हुन लागेको हो

भारतमा सतारुढ कंग्रेस पार्टी र मुख्य विपक्षी दल भारतीय जनतापार्टी बीच कडा प्रतिस्पर्धा हुने ठानिएको आम चुनावको तेश्रो चरणको मतदान बिहीबार भैरहेका छन्।

९१ वटा सिटका लागि राजधानी दिल्ली र उतर प्रदेश सहित १४ वटा राज्यमा हुने मतदानमा दशौं लाख मानिसहरुले भोट खसाल्ने बताइएको छ।

राजनीतिक हिंसाको चपेटामा परेको पूर्वी भारतमा चुनावी सुरक्षाका लागी थप हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ।

महत्वपूर्ण

बिहीबारको तेश्रो चरणको मतदानलाई आम चुनावको पहिलो महत्वपूर्ण दिनका रुपमा हेरिएको छ।

दिल्लीको ७ वटै निर्वाचन क्षेत्र, दक्षिणी राज्य केरेलाका सबै २० क्षेत्र र उत्तर प्रदेश, महाराष्ट्र र उडिसाका १०-१० वटा क्षेत्रहरुमा मतदान हुन लागेको हो।

शान्तिपूर्ण रुपमा मतदान गराउन हजारौं प्रहरी र अर्ध शैनिक बलका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।

नौ चरणको मतदान सोमबार शुरु भएको थियो र त्यो आगामी मे १२ तारिखमा सकिनेछ र त्यसको ४ दिनपछि मतगणना शुरु हुने जनाइएको छ।

मतदानको लागि विद्युतीय मतदान यन्त्रहरुको प्रयोग गरिएको छ र पहिलो पटक मतदाताले कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने विकल्प पनि दिइएको छ।

सुरक्षा र व्यवस्थापकीय तयारीका कारण मतदान प्रकिया ५ हप्ताभन्दा बढी लम्ब्याइएको हो।

रस्साकस्सी

गएको शरद ऋतुमा दिल्लीमा भएको प्रान्तिय चुनावमा राम्रो नतिजा ल्याएको आम आदमी पार्टीले मुख्य दलहरुलाई चुनौती दिने ठानिएको छ।

कैयौं साना क्षेत्रीय पार्टीहरुले पनि चुनाव लडिरहेका छन् र कुनै पार्टीको स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनमा उनीहरुको भूमिका मुख्य हुने ठानिएको छ।

भारतको तल्लो सदन अर्थात लोकसभामा कूल ५ सय ४३ सिट निर्वाचित हुनेछन् र सरकार गठनका लागि कम्तीमा २७२ सांसदहरुको समर्थन चाहिन्छ।

भारतमा झन्डै साढे ८१ करोड बालिग मतदाता रहेका छन्।

चुनावमा नेहरु र गान्धी वंशका पछिल्ला उत्तराधिकारी कंग्रेस नेता राहुल गान्धी र भारतिय जनता पार्टीका चमत्कारीक र विवादित हिन्दुवादी नेता नरेन्द्र मोदीबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ।

चुनाव अघि गरिएका मत सर्वेक्षणले सन् २००२ मा मुसलमान विरुद्ध निक्कै खराब दंगा भोगेको गुजरात राज्यका मुख्य मन्त्री मोदी अघि रहेको देखाएको थियो।