दिल्लीसहितका स्थानमा उत्साहजनक मतदान

  • 10 एप्रिल 2014
india polls तस्वीर कपीराइट
Image caption राजधानी दिल्लीसहितका स्थानमा मतदाताहरुको सहभागिता उत्साहजनक देखिएको थियो

भारतमा जारी चरणवद्ध आम निर्वाचनमा बिहीबार सबैभन्दा बढी ११ राज्य तथा तीन केन्द्रशासित प्रदेशहरुका निर्वाचन क्षेत्रहरुमा औपचारिक रुपमा मतदान सम्पन्न भएको छ।

राजधानी दिल्लीमा भ्रष्टाचारविरोधी एउटा नयां पार्टीले सत्ताधारी कंग्रेस र हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीलाई कडा चुनौती दिंदैछ।

पश्चिमी उत्तर प्रदेशमा दशवटा निर्वाचन क्षेत्रमा मतदान भएको छ।

यो उक्त प्रदेशमा भएको पहिलो चरणको मतदान हो जहांबाट देशमा सबैभन्दा धेरै विधायकहरु निर्वाचित हुन्छन्।

त्यस क्षेत्रमा निर्वाचनको तयारीको समय गत बर्ष भएको हिन्दु मुसलमान दंगाको विषयको छायांमा परेको थियो।

त्यसबेलाको घटनामा कम्तीमा ६० जना मारिएका थिए भने हजारौं विस्थापित हुनु परेको थियो।

उत्साह

भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशमा मतदान केन्द्रहरुमा देखिएको लामो लाइन र बलियो सुरक्षा उपस्थिति त्यहाँको संवेदनशील क्षेत्रका मतदाताहरुमाझ देखिएको उत्साहको संकेत हो।

सात महिना अघि मात्र यो क्षेत्रमा गत दशककै सबैभन्दा हिंसात्मक धार्मिक दंगा भड्किएको थियो।

त्यसबेला विस्थापीत भएका हजारौं मुसलमानहरु हाल पनि कामचलाउ राहत शिविरहरुमा कठीन जीवन बिताइरहेका छन्।

जारी निर्वाचनमा मतदान गर्नका लागि तीमध्ये धेरैलाई ताजा मतदाता परिचयपत्र वितरण गरिएको छ।

दक्षिणपन्थी

केही मुसलमान मतदाताहरुले निर्वाचनमा भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवारका रुपमा प्रस्तुत नरेन्द्र मोदीका बारे टिप्पणी गर्दै भने, "मोदी प्रधानमन्त्री बने भने हिन्दुत्वको दक्षिणपन्थी राजनीति हावी हुनेछ, हामीमाथि थप आक्रमणको सम्भावना बढ्नेछ। मेरा साथीहरु ठट्टा गर्दै भन्छन् कि यदि मोदी सत्तामा आए भने कि त हामीले आफ्नो नाम फेर्नुपर्छ कि पाकिस्तानमा बसाई सर्नुपर्छ।"

यस क्षेत्रका ६०० वटाभन्दा बढी मतदान केन्द्रहरुलाई संवेदनशील भनेर निर्धारण गरिएको छ।

गत वर्षको हिंसामा संलग्न भनी आरोपित विभिन्न राजनीतिक पार्टीका कम्तीमा तीनजना उम्मेदवारहरु बिहीबारको निर्वाचनमा खडा भएका छन् र धेरैको विश्वासमा समग्र क्षेत्रमा नै मतदान चर्को रुपमा ध्रुवीकृत हुने देखिएको छ।

बिहीबारको मतदानका लागि उक्त क्षेत्रमा एक करोड साठी लाख मतदाताहरु योग्य थिए र ९१ स्थानको लागि मतदानमा १४ सय अठार जना उम्मेदवारहरु खडा थिए।

थुप्रै स्थानमा पचास प्रतिशतभन्दा बढी मतदाताको उपस्थिति रहेको विवरणहरु प्राप्त भएका छन्।