युक्रेनमा रुसी ग्यास आपूर्तीबारे विवाद

  • 11 एप्रिल 2014
युक्रेनी ग्यास पूर्वाधार तस्वीर कपीराइट Reuters
Image caption अमेरिकाले युक्रेनमा उर्जा संकट हुन नदिनको निम्ति प्राविधिक सहयोग दिने संकेत दिएको छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसलाई ग्यासको बक्यौता रकम तिर्न नसकेकोले उर्जा आपूर्ती संकटमा पर्ने सक्ने बताए लगत्तै पछिल्लो अमेरिकी प्रतिक्रिया आएको हो।

तर अमेरिकाले आफ्ना युरोपेली साझेदारहरु मार्फत भएपनि युक्रेनमा ग्यास आपूर्ती सहज बनाउन प्राविधिक सहयोग दिइने बताएको छ।

तनावग्रस्त युक्रेनमा ग्यास आपूर्तीको विषयलाई लिएर विवाद उत्पन्न भएको बेला अमेरिकाले त्यसप्रति चासो देखाउँदै प्रतिक्रिया जनाएको हो।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जेन साकीले रुसले युक्रेनमा वितरण हुने ग्यासको भाउ बडाउने कदम बजारद्वारा निर्धारित नभएको बताइन्।

आलोचना

“हामी युक्रेनमा पठाइएको ग्यासको भाउ बडाउने रुसी कदमको आलोचना गर्छौ, युक्रेनले अहिले तिर्नु पर्ने नयाँ मूल्य बजारभाउ भन्दा धेरै बढी हो, त्यो इयुका सदस्यहरुले तिर्ने भन्दा धेरै हो। ”

साकीले अमेरिकाले युक्रेनमा उर्जा संकट हुन नदिनको निम्ति प्राविधिक सहयोग दिने र आफ्ना युरोपेली मित्र शक्तीहरुसंग पनि समन्वय गर्ने बताइन्।

त्यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको ग्यासको बक्यौता रकम नतिरेकोले रुसले त्याहाँ गरिदै आएको ग्यास आपूर्ती बन्द गर्न सक्ने बताएका थिए।

रुसी उर्जा कम्पनी ग्याजप्रोमले युक्रेनले आफूलाई दुइ अरब डलर भन्दा बढि वक्यौता रकम नतिरेको बताउँदै अहिले थपिएको रकम समेत तिर्नु पर्ने बताएको छ।