युक्रेनको पूर्वमा बढ्दो तनाव

  • 11 एप्रिल 2014
तस्वीर कपीराइट AFP
Image caption किएभले रकम भुक्तानी नगरेमा युक्रेनको ग्यास आपूर्ती काट्न सकिने रुसले चेतावनी दिएको छ

युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेनयुकले रुस समर्थक प्रदर्शनकारीहरु सितको मुठभेडको अवस्था अन्त्य गर्ने प्रयासमा देशको पूर्वका क्षेत्रीय नेताहरुसित बैठक गरेका छन्।

इन्टरफ्याक्स समाचार एजेन्सीले जनाए अनुसार उनले ती नेताहरुलाई किएभ सरकारले पूर्वको सुरक्षा तथा आर्थिक प्रगती सुनिश्चीत गर्ने कुरा स्थानीय मानिसहरुलाई बताउन आग्रह गरेका छन्।

डोनेत्स्कमा स्वशाशनको माग गर्दै सशस्त्र रुस समर्थक कार्यकर्ताहरुले एउटा सरकारी भवनलाई नियन्त्रणमा लिई राखेका छन्।

सोही शहर नजिकै एउटा ग्यास बिस्फोटनमा सात जना खानीका कामदार मारिएका छन्।

रुसी ग्यास आपूर्ती र सैनिक सुदृढीकरणलाई लिएर रुस र अमेरिका बीच तनाव बढ्दै गएको समयमा यात्सेनयुकले डोनेत्स्कको भ्रमण गरेका हुन्।

युक्रेन रुसी ग्यासमा निर्भर रहेको छ र तिर्न बाँकी भनिएको रकमको कुरालाई लिएर दुवै बीच बिवाद बढ्दै गएको छ।

नेटोको भनाईमा ४० हजार सम्म रुसी सैनिक युक्रेनको सीमा नजिकै जम्मा भएका छन्।

रुसी चेतावनी

यो संकट बारे शुक्रवार एक बिज्ञप्तीमा रुसी विदेशमन्त्री सर्गाइ लाभ्रोभले युक्रेनको तटस्थता बारे कानूनी ग्यारेन्टीको लागी आह्वान गरे।

त्यसबाट उनले नेटोलाई युक्रेनलाई गठबन्धनको नजिक ल्याउन नखोज्न सम्झाएका छन्।

लुहान्सक शहरमा पनि मुख्यतया रुसी भाषी कार्यकर्ताहरुले एउटा सरकारी सुरक्षा भवनलाई नियन्त्रणमा लिई राखेका छन्।

युक्रेनका अधिकारीहरुले बिरोधीहरुले भवन खाली गर्ने र बदलामा उनीहरु माथि मुद्दा नचलाइने सहमति गराउन खोजी रहेका छन्।

बिहीवार रुसी राष्ट्रपति भ्लाडिमीर पुटिनले किएभले रकम भुक्तानी नगरेमा युक्रेनको ग्यास आपूर्ती काट्न सकिने कुरा बताएका थिए।

उनले यसबाट युरोपमा हुने ग्यास आपूर्ती माथि पनि असर पर्न सक्ने चेतावनी दिए।

युक्रेनले दुई अर्ब डलर भन्दा बढी रकम तिर्न बाँकी रहेको बताईन्छ।