‘क्रिकेट खेलाडीलाई तत्काल तलब दिइने’

  • 12 एप्रिल 2014
Image caption खेलाडीहरुले एक दिवसीय प्रतियोगिता बहिष्कार गर्दा त्यसको असर उनीहरुलाई नै पर्ने बताइन्छ

राष्ट्रिय खेलाडीहरु विरुद्ध अनुशासनको कारवाही गर्न तम्सेको नेपाल क्रिकेट संघले शनिबार बैठक बसी खेलाडीहरुको तलब तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

नेपाल क्रिकेट संघको केन्द्रिय कार्यसमितिको शनिबार अबेरसम्म बसेको बैठकले संघका उपाध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा वार्ता कमिटी र सचिव उत्तम कर्माचार्यको संयोजकत्वमा अनुशासन कमिटी पनि बनाएको छ।

क्रिकेट संघका अध्यक्ष टंक आङबुहाङले खेलाडीहरुको आधा मागलाई जायज बताउदैं भने, ‘’खेलाडीहरुको ६ महिनाको तलव एक हप्ता भित्रै दिने निर्णय भएको छ। खेलाडीहरुसंग अब वार्ता टोलीले अन्य समस्याका विषयमा कुरा गर्नेछ।‘’

अनुशासन

बैठकले खेलाडीहरुलाई अनुशासनको दायराभित्र ल्याउने संकेत गर्दे अनुशासन कमिटी बनाएको छ।

खेलाडीहरु सार्वजनिक रुपमा विरोधमा उत्रिएपछि कतिपयले उनीहरुको कार्यलाई विधिभन्दा माथिको कार्य भनी आलोचना समेत गरेका छन्।

तर खेलाडीहरुले वर्तमान पदाधिकारीहरुसंग वार्ता नगर्ने बताएका छन्।

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘’हामीले धेरै पटक वर्तमान पदाधिकारीहसंग बसेर वार्ता गरिसकेका छौं । तर उहांहरुले अहिलेसम्म समाधान दिनु भएको छैन। यसैले उहांहरुसंग फे‌रि बस्नुको कुनै औचित्य छैन भन्ने हाम्रो निष्कर्ष हो।‘’

नयाँ

दुई दिन अगाडि सम्पूर्ण राष्ट्रिय खेलाडीहरुले पत्रकार सम्मेलन गरी संघले खेलाडीहरुको आधारभूत आवश्यकतामा समेत बेवास्ता गरेको भन्दै नयाँ क्रिकेट संघको माग राखेका थिए।

उनीहरुले अहिले संचालन भइरहेको राष्ट्रिय प्रतियोगिता समेत बहिष्कार गरेका थिए।

खेलाडीहरुको यो कदम नेपाली टोलीले विश्वकपमा राम्रो खेलेकोमा चौतर्फी प्रशंसा भइरहेको र उनीहरु एक महिनापछि एसियाको ठूलो प्रतियोगिता एसीसी प्रिमियर लिग खेल्ने तयारी गरिरहेका बेला आएको हो ।