सरकारी भवन बन्दुकधारीहरुको कब्जामा

  • 12 एप्रिल 2014
रुस समर्थित प्रदर्शनकारीहरु तस्वीर कपीराइट Reuters
Image caption डोनेस्कमा पनि रुस समर्थित प्रदर्शनकारीहरुले सरकारी भवनहरुमा कब्जा जमाइ रहेका छन्

युक्रेनमा अज्ञात बन्दुकधारीहरुले पूर्वी शहर स्लोभियानस्क स्थित प्रहरी तथा सुरक्षा निकायका भवनहरुमा कब्जा जमाएका छन्।

क्षेत्रीय प्रहरीका एकजना प्रवक्ताले सुरक्षाकर्मीहरुले लगाउने जस्तो पोशाक लगाएका अज्ञात सशस्त्र मानिसहरुले स्लोभियानस्क शहरस्थित प्रहरीको प्रशासकीय भवनमा कब्जा जमाएको बताए।

उनले उनीहरुले अहिलेसम्म कुनै माग नराखेको पनि जनाए।

जवाफ

आफ्नो फेसबुक पृष्ठमा लेख्दै युक्रेनका अन्तरिम गृहमन्त्री आर्सेन आभाकोभले त्यसको दरिलो जवाफ दिइने बताएका छन्।

सशस्त्र मानिसहरुलाई आतँककारी भन्दै उनले विशेष सुरक्षा दलले उनीहरुलाई त्यहाँबाट हटाउने पनि जनाएका छन्।

त्यसो त रुस समर्थित प्रदर्शनकारीहरुले पूर्वी युक्रेन भरिनै विभिन्न सरकारी भवनहरुमा कब्जा जमाएका छन्।

युक्रेनको अन्तरिम सरकारले मस्कोको योजना अनुसार त्यस्ता गतिविधिहरु भैरहेको आरोप लगाएको छ।

मस्कोले ती आरोपहरुको खण्डन गरेको छ।

स्लोभियानस्क भन्दा एकसय तीस किलोमिटर टाढा रहेको पूर्वी शहर डोनेस्कमा पनि गएको कैयौं दिन देखि प्रदर्शनकारीहरुले सरकारी भवनहरुमा कब्जा जमाइरहेका छन्। उनीहरुले क्राइमियाजस्तै त्यहाँ पनि जनमत संग्रह गराइनुपर्ने माग गरिरहेका छन्।

जनमतसंग्रह

झण्डै एक महिना अघि युक्रेनको क्राइमिया क्षेत्रमा गराइएको विवादित जनमतसंग्रहमा अधिकाँश मतदाताले क्राइमियालाई रुसमा विलय गराउने पक्षमा मतदान गरेको बताइएको थियो।

त्यसयता रुसी संसदले एक कानु्न पारित गरी क्राइमिया आफ्नो अँग भएको घोषणा गरीसकेको छ।

त्यसपछि युक्रेनको अन्तरिम सरकार तथा पश्चिमा मुलुकहरुले उक्त जनमत संग्रहलाई असंवैधानिक तथा अन्तर्राष्ट्रिय कानुन विपरित भन्दै त्यसलाई स्वीकार नगर्ने जनाएका थिए।

संयुक्त राज्य अमेरिका तथा युरोपेली संघले रुसमा क्राइमियाको विलयका लागि जिम्मेवार ठानिएका अधिकारीहरु विरुद्ध आर्थिक तथा यात्रा संबन्धी नाकाबन्दीहरु लगाएका छन्।

उनीहरुले युक्रेनसंगको सीमा नजीकै ठूलो संख्यामा रुसी सैन्यहरु तैनाथ गरेर रुसले आफ्नो छिमेकी माथि दबाब दिइरहेको आरोप पनि लगाएका छन्।

चेतावनी

यसैबीच रुसले उसले युक्रेनलाई बिक्री गर्दै आएको ग्यांसको आपूर्ति बन्द गरीदिने चेतावनी दिएको छ।

रुसी सरकारको स्वामित्वमा रहेको कम्पनी ग्याजप्रमले युक्रेनले उसलाई झण्डै दुई अर्ब बीस करोड डलर तिर्न बाँकी रहेको जनाएको छ। उसले युक्रेनलाई अब सहुलियत मूल्यमा ग्याँस बिक्री नगरिने जनाउँदै युक्रेनलाई बिक्री गरिने ग्याँसको मूल्यमा असी प्रतिशतले वृद्धि गरिएको घोषणा गरेको छ।

हाम्रा संवाददाता भन्छन्, युक्रेनमा जारी सँकटलाई युरोपेली संघतर्फ झुकाउ राख्‍ने युक्रेनको अन्तरिम सरकार र रुसबीच शक्ति संघर्षको रुपमा पनि हेरिएको छ।

उनी भन्छन्, रुस युक्रेन आफ्नो प्रभावक्षेत्र भित्र रहिरहोस् भन्ने चाहन्छ।