युक्रेन समस्या: भीडन्तमा दुवै पक्ष मारिए

  • 13 एप्रिल 2014
तस्वीर कपीराइट Reuters
Image caption युक्रेनले त्यहाँ जारी तनावको पछाडि मस्कोको हात रहेको आरोप लगाएको छ

युक्रेनको पूर्वी शहर स्लोभियान्स्कमा रुस समर्थक सशस्त्र मानिसहरुसँग भएको गोली हानाहानमा एकजना युक्रेनी सुरक्षाकर्मी मारिएको त्यहाँका आन्तरिक मामिला मन्त्रीले बताएका छन्।

आर्सेन आभाकोभले दुवै पक्षका मानिस मारिएको बताएका छन्।

रुस समर्थक फौजले शनिबार स्लोभियान्स्क शहरमाथि कब्जा जमाएका थिए र उनीहरुले अरु कम्तीमा चार वटा शहरलाई लक्षित गरेपछि किएभले उसकै शब्दमा आतंकवाद विरुद्धको कारवाही शुरु गरेको थियो।

किएभ र पश्चिमा शक्तिहरु मस्कोले समस्या शुरु गरेको आरोप लगाउँछन्।

क्रेमलिनले त्यो अस्वीकार गर्दछ।

कारवाही

अमेरिकी अधिकारीहरुले शनिबार भनेका छन्, किएभका अधिकारीको शक्ति अवमुल्यन गर्न रुसी समर्थन प्राप्त फौजहरुले अभियान चलाइरहेका छन्।

अमेरिकी विदेशमन्त्री जोन केरीले यदि रुसले तनाव कम गरेन भने थप कारवाही हुने भन्दै उसका सेनालाई युक्रेनी सीमाबाट फिर्ता गर्न चेतावनी दिएका छ्न्।

स्लोभियान्स्कका प्रदर्शनकारीहरुलाई कमजोर पार्न युक्रेनी फौजले सैनिक हेलिकप्टरहरु प्रयोग गरेका छन्।

प्रदर्शनकारीहरुले टायर बालेका थिए र सरकारी कारवाही शुरु हुनुअघि वचाउको प्रबन्ध सुदृढ पारेका थिए।

तर रुसी विदेशमन्त्री सेरगेइ लाभरोभले भनेका छन् "किएभ सरकारले आफ्नो मुलुकको भाग्य बचाउने जिम्मेवारी पुरा गर्न असक्षमता प्रदर्शन गरिरहेको छ।"

स्लोभियान्स्कमा रहेका बीबीसी संवाददाताहरुका अनुसार बन्दुकधारीहरु असाध्यै व्यवस्थित थिए र तुरुन्तै शहरलाई नियन्त्रणमा लिएका थिए।

शहर भित्र पस्ने मुख्य सडकमा चेकजाँच गर्ने ठाउँहरु बनाइएका छन्।

अतिक्रमण

आभाकोभले उक्त कारवाहीलाई रुसी अतिक्रमण भनेका छन्।

अभियानकर्ताहरुलाई भगाउने एउटा कार्यक्रम सार्वजनिक गर्दै उनले नागरिकहरुलाई घरभित्र बस्न सचेत गराएका छन्।

प्रहरी चौकी नजिकैका प्रत्यक्षदर्शीहरुले भीडन्तको कुनै संकेत नमिलेको र अहिलेसम्म शहरको केन्द्र शान्त रहेको बताएका छन्।

पूर्वी युक्रेनमा रुसी भाषी ठूलो जनसंख्या छ र रुस समर्थक राष्ट्रपति भीक्टर यानुकोवीच अपदस्थ गरिएपछि श्रृंखलाबद्ध विरोध प्रदर्शन हुँदै आएका छन्।