सुरक्षा परिषदको वैठकमा रुस र युक्रेनबीच तनाव

  • 14 एप्रिल 2014
रुश समर्थक तस्वीर कपीराइट AP
Image caption रुस समर्थक सेनाले प्रहरी चौकी र परिषदका भवनहरु आफ्नो कब्जामा लिएका विवरणहरु प्राप्त भएका छन्

सुरक्षा परिषदको वैठकमा रुसी दूत विताली चर्किनले युक्रेनले आफ्नै जनताबिरुद्ध युद्ध छेडेको आरोप लगाए।

युक्रेनी प्रतिनिधि युरिभ सर्गेएभले रुसले युक्रेनको स्थीरतामा खलल पुर्याउँदै युक्रेनलाई नष्ट पार्न खोजेको आरोप लगाए।

उनले आफ्नो देशको चयन नखलबलाउन रुसलाई अनुरोध गरे।

युक्रेनका अन्तरिम राष्ट्रपति टुर्चिनोभले रुस समर्थक सेनाहरुलाई सोमबार विहानसम्ममा पूर्वी युक्रेनका सरकारी भवन तथा नगरहरु छोड्न आदेश दिए लगत्तै रुसले युक्रनी कदमको कडा आलोचना गर्दै त्यस्तो अनुरोध गरेको थियो।

त्यस अघि रुसका विदेश मन्त्रालयका प्रवक्ताले पूर्वी युक्रेनमा भएका हताहतीका लागि किएभ जिम्मेवार हुनु पर्ने प्रतिक्रिया दिएका थिए।

युक्रेनका अन्तरिम राष्ट्रपति टुर्चिनोभले चाँही टेलिभिजनमार्फत बोल्दै सोमबार विहानसम्म रुस समथर्क सैन्य बलहरुले सरकारी भवन र नगरहरुबाट नहटे युक्रेनी सैन्यबलहरुले कारवाही थाल्ने चेतावनी दिए।

चेतावनी

“युक्रेनमा अतिक्रमण गर्ने, अस्थीरता ल्याउने आतंकवादी क्रियाकलापहरुबिरुद्ध कारवाही गर्न हामीले तयारीहरु गरिसकेका छौं।”

“अब युक्रेनमा क्राइमियाको जस्तो परिदृश्य दोहोरिन हामी दिदैनौं।”

तर रुसले टुर्चिनोभको कदमको कडा आलोचना गरेको छ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता अलेक्जान्डर लुकाशेभिचले पछिल्ला घटनाको निम्ति किएभ जिम्मेवार रहेको बताए।

“प्रदर्शनकारीहरुमाथि बल प्रयोग गर्ने टुर्चिनोभको कदमको हामी कडा शब्दमा भत्तसना गर्दछौ, युक्रेनमा दमन गर्ने आपराधीक कदमहरुका कारण मानिसहरुको ज्यान गइरहेको छ र सडकहरुमा रगत बगिरहेको छ।”

पूर्वी युक्रेनमा हिंसा र तनावहरु चर्किएका खबरहरु प्राप्त भएका छन्।

धेरैजसो हतियारले सुसज्जित रुस समर्थक सेनाले प्रहरी चौकी र परिषदका भवनहरु आफ्नो कब्जामा लिएका र रात परेपछी प्रदर्शनकारीहरु सडकमा आगो तापेर बसिरहेका विवरणहरु प्राप्त भएका छन्।

स्लेभिएन्सक् नगर पुगेका बीबीसीका सम्बाददाताहरुका अनुसार त्यो नगरका अधिकांश भवनहरु रुस समर्थक सेना र प्रदर्शनकारीहरुको नियन्त्रणमा थिए।

अवरोधहरु

उनीहरुले त्यहाँका सडकहरुमा अवरोधहरु सृजना गरिरहेका थिए र सडकहरुमै रातीको चिसो समयमा आगो ताप्ने व्यवस्था गरेका थिए।

अनलाइमा आएको एक भिडिओमा नगरको एक सडकमा गोली चलेको देखिएको थियो।

त्यसक्रममा एक जना युक्रेनी सुरक्षा अधिकारी मारिएको बताइएको छ।

खार्किभमा रुस समर्थक र विपक्षी प्रदर्शनकारीहरुबीच झडप भएको थियो।

त्यसक्रममा कयौ घाइते भएका थिए।