वाग्मतीका सहायक नदी सफा गरिने

  • 15 एप्रिल 2014
वाग्मती नदी तस्वीर कपीराइट .
Image caption सुन्दरीजलसम्म सफा देखिने वाग्मतीमा शहरको भित्री भाग पुगेपछि अझै ढल मिसाउने गरिन्छ

वाग्मती नदीलाई पूर्ण स्वच्छ बनाउन त्यसका सहायक नदीहरुको सफाई अभियान शुरु गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

शहरी विकास मन्त्रालयका सचिव किशोर थापाका अनुसार केही साना नदीहरुमा सफाईको काम सुरु गरिसकिएको र बाँकी नदीहरुलाई पनि छिट्टै प्राथमिकता दिइने छ।

वाग्मतीमा मात्रै केन्द्रित भएकाले सहायक नदीहरुको सफाईमा केही ढिलाइ भएको उनले बताए।

व्यापक

सचिव थापाले भने, “सरसफाई शुरु नभएको होइन्, केही समय लाग्न सक्छ, अब अन्य सहायक नदीहरुको सफाईमा पनि व्यापक परिचालन गर्ने सोंचाई छ।”

काठमाडौं उपत्याकाको सभ्यतासँग जोडेर हेरिने वाग्मती नदीको सरसफाई अभियान ५० हप्तादेखि जारी छ।

वाग्मती नदी सरसफाई अभियानअन्तर्गत मुख्य सचिव लीलामणि पौडेल लगायतका उच्च अधिकारीहरुले सोमवार गुहेश्वरीस्थित वाग्मतीमा नुहाएका नुहाएका थिए।

पछिल्लो समय पौडेलको सहभागीतामा हरेक शनिबार वाग्मती नदीको सरसफाई गरिदै आएको छ।

ढल

यसअवधिको अनुभव सुनाउँदै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बाष्कोटाले भने, “विष्णुमति, नख्खु वा हनुमन्ते जस्ता यसका १३ वटा शाखा नदीहरु सफा नगरिकन वाग्मती पुरै सफा गर्न सकिँदैन।”

सरसफाई अभियान चलिरहँदा केही स्थान बाहेक प्रशोधन नगरी ढलहरु सीधै वाग्मती नदीमा मिसाउने कार्य जारी नै छ।

वर्षौंअघि दुईवटा प्रशोधन केन्द्रहरु स्थापना गरिए पनि आवश्यक स्रोत साधन र बिजुलीको अभावमा तिनीहरुले पूर्ण रुपमा काम गर्न नसकेको सम्बन्धित अधिकारीहरुले स्वीकार्दै आएका छन्।

वाग्मतीलाई सुग्घर बनाउन चासो र चिन्ता व्यक्त गर्नेहरु नदीमा फालिएका फोहोर टिप्ने कार्यले निरन्तरता दिँदै ढल मिसाउने काम बन्द गरिनु पर्नेमा जोड दिने गरेका छन्।