आतंकवादविरुद्ध कारबाही सुरुः युक्रेन

  • 15 एप्रिल 2014
तस्वीर कपीराइट Getty
Image caption पश्चिमा शक्तिहरुले युक्रेनमा जारी तनाव अन्त्यका लागि सघाउन मस्कोमाथि दबाब दिदै आएका छन्

युक्रेनका कार्यवाहक राष्ट्रपति ओलेक्सान्डर टुर्चिनोभले उनकै शब्दमा रुस समर्थक पृथकतावादीहरुविरुद्ध आतंकवादविरोधी कारबाही सुरु भएको घोषणा गरेका छन्।

युक्रेनी संसदलाई सम्बोधन गर्दै उनले भने, ‘’दोनेत्सक क्षेत्रमा आतंकवादविरोधी कारवाही शुरु भयो। तर त्यो चरणबद्धरुपमा जिम्मेवारीपूर्ण ढंगले सचेततापूर्वक गरिनेछ। कारवाहीको उद्देश्यबारे म एक पटक फेरि पनि जोड दिन्छु कि युक्रेनी नागरिकहरुको रक्षा गर्ने, आतंकवाद रोक्ने, अपराध रोक्ने र हाम्रो मुलुकलाई छिन्नभिन्न पार्ने प्रयासलाई रोक्ने हो।‘’

युक्रेनका बख्तरबन्द गाडीहरु जम्मा भइरहेका बेला पृथकतावादी लडाकुहरु हमलाका निम्ति तम्तयार देखिन्छन्।

वार्ता

अमेरिकी र रुसी राष्ट्रपतिले उक्त संकटबारे टेलिफोन वार्ता गरेका छन्।

दोनेत्सक र युक्रेनको अरु पूर्वी क्षेत्रबाट पृथकतावादीहरुलाई पछि हटाउनका लागि आफ्नो प्रभावको प्रयोग गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेको बताइएको छ।

रुसले हस्तक्षेप गरेको कुरा पुटिनले अस्वीकार गरेका छन्।

रुस समर्थक लडाकुहरुले युक्रेनको पूर्वी प्रान्तमा रहेका करिब १० वटा शहरमा सरकारी भवनहरुमाथि कब्जा जमाएका छन्।

लडाकु

उक्त क्षेत्रमा युक्रेनका ठूला-ठूला कलकारखानाहरु रहेका छन्।

विद्रोही लडाकुहरुमाथि कुनै पनि कारवाही भए त्यसको प्रतिकारका निम्ति सीमावर्ती क्षेत्रमा हजारौं रुसी सेनाहरु परिचालन गरिने ठानिएको छ।

गत महिना विवादास्पद जनमत संग्रहपछि क्राइमिया युक्रेनबाट चोइटिएर रुसमा विलय भएको थियो।

पृथकतावादीहरुमाथि कारवाहीको माग गर्दै प्रदर्शनकारीहरु राजधानी कियभस्थित संसद भवन बाहिर भेला भएका थिए।