युक्रेन संकटको कुटनैतिक समाधानमा जोड

  • 15 एप्रिल 2014
पूर्वी युक्रेन तस्वीर कपीराइट AP
Image caption पुर्वी युक्रेनको होर्लिब्का नगरमा तनाव बढेका विवरणहरु प्राप्त भएका छन्

आरोप-प्रत्यारोपको क्रम जारी रहँदा, रुसका राष्ट्रपति भ्लादीमीर पुटीनले रुसले पूर्वी युक्रेनमा हस्तक्षेप गरिरहेको भन्ने अमेरिकी आरोपहरुलाई अस्वीकार गरेका छन्।

क्रेमलिनले भनेको छ ओबामासंगको टेलिफोन कुराकानीमा पुटिनले अमेरिकी आरोपहरु अपुष्ट जानकारीका आधारमा आएको बताए।

ह्वाइट हाउसले चाँही राष्ट्रपति ओबामाले आफ्ना रुसी समकक्षीलाई युक्रेनको संकटको अमेरिकाले कुटनैतिक समाधान चाहेको तर रुसी कारवाही त्यसनिम्ति सहायक नभएको बताएको उल्लेख गरेको छ।

शान्ति सेना

वासीङ्टनले रुसविरुद्ध सम्भाव्य प्रतिबन्दहरु लगाउनेबारे युरोपेली मित्र शक्तीहरुसंग छलफल गरिरहेको बताएको छ।

ह्वाइट हाउसले युक्रेनी अधिकारीहरुलाई संयमित भएको भन्दै प्रशंसा गरेको छ।

युक्रेनका कार्यवाहक राष्ट्रपति ओलेक्जान्डर टुर्चीनोभले रुस समर्थक विद्रोहीहरुले सरकारी भवनहरु कब्जा गरिरहेको देशको पूर्वी भागमा शान्ती सेना खटाउन संयुक्त राष्ट्रसंघ समक्ष आग्रह गरेका छन्।

राष्ट्रसंघका लागि युक्रेनी राजदूत युरिए सेर्गेएभले किएभलाई अहिले सहयोग चाहिएको बताए।

“हामीलाई बाहिरी सहयोग चाहिन्छ, हामीसंग आत्मरक्षा गर्ने त्यत्रो ठूलो सामर्थ्य छैन किनभने रुसी सेना त्यत्रो ठूलो छ।”

“त्यसमाथि अहिले विभिन्न थरि पृथकतावादी र आतंकवादीहरु पनि मिसिएका छन्।”

रुस समर्थक विद्रोहीलाई सरकारी भवनहरु छोड्न दिइएको समयसीमा सकिए लगत्तै पुर्वी युक्रेनको होर्लिब्का नगरमा तनाव बढेका विवरणहरु प्राप्त भएका छन्।

पुटीनका एक प्रवक्ताले पूर्वी युक्रेनका घटनाक्रमलाई मस्कोले चिन्तापूर्वक हेरि रहेको बताए।