दक्षिण कोरियामा डुंगा डुब्दा सयौं बेपत्ता

  • 16 एप्रिल 2014
दक्षिण कोरियामा डुबेको डुंगा तस्वीर कपीराइट AFP
Image caption डुंगामा धेरैजसो स्कूले बालबालिकाहरु सवार रहेका थिए

दक्षिण कोरियामा झण्डै पांचसय जना सवार एउटा डुंगा पल्टिएपछि हराइ रहेकाहरुको खोजीका लागि गोताखोरहरुको टोली परिचालन गरिएको छ।

उक्त डुंगामा धेरैजसो स्कुले बालबालिका सवार थिए।

रातको समयमा पानी मुनि बत्ती बालेर भए पनि खोजी कार्य जारी राखिएको छ।

उक्त डुंगा दुर्घटनामा परेका एकसय पचास जना भन्दा बढीलाई उद्धार गरिएको छ भने हालसम्म तीनसय जना जति हराइरहेका छन्।

उक्त डुबेको डुंगामा धेरैजसो उत्तरपश्चिम स्थित एउटा बन्दरगाहबाट दक्षिणी रिजोर्ट टापु जेजु तर्फ गैरहेका स्कुले विद्यार्थीहरु सवार थिए।

आशा धुमिल

समय वित्दै जांदा हराइ रहेकाहरुलाई सकुशल फेला पार्न सकिने आशा पनि धमिलो बन्दै गैरहेको छ।

खोजी कार्यमा दर्जनौं जहाजहरुको प्रयोग भैरहेको छ भने एउटा अमेरिकी युद्ध जहाज पनि सघाउनका लागि घटनास्थलमा पठाइएको छ।

यसअघि दक्षिण कोरियाली अधिकारीहरुले ३६८ जनालाई पानीबाट बाहिर निकालिएको बताएका थिए, तर पछि गणना गर्दा गल्ती भएको बताइएको छ। ‌

अधिकारीहरुले उद्धार गरिएकाहरुको पछिल्लो संख्या १६४ रहेको बताएका छन्।

तस्वीरहरुमा उक्त डुंगा एकतिर पुरै ढल्केको र पछि केहि थोरै भाग मात्र देखिने गरी पानीमा सम्पूर्ण रुपमा डुबेको देखिन्छ।

तस्वीर कपीराइट GETTY IMAGES
Image caption डुंगा के कारणले पल्टीन पुगेको हो भन्ने थाहा हुन सकेको छैन

समस्यामा परेको भन्ने संकेत पठाएको दुई घण्टा भित्रै उक्त डुंगा डुबेको विवरणहरुमा जनाइएको छ।

दक्षिण कोरियाको राजधानी सउलमा रहेका बीबीसीका सम्बाददाता मार्टीन पेसेन्स भन्छन्, त्यहां यो झण्डै बीस बर्ष यता भएको सबैभन्दा खराब जलयात्रा दुर्घटना बन्न सक्ने चिन्ता व्यक्त गरिंदैछ।

बुधबार बिहान द्रुत गतिमा भएको यो दुर्घटनापछि उद्धार कार्यमा तटरक्षक, सेना र अन्य व्यवसायिक जहाजहरु संलग्न भएका थिए।

खोजी

अब नौसेनाका गोताखोरहरुले हराइ रहेकाहरुको खोजी थालेका बताइएको छ।

तर अधिकारीहरुले तिनीहरुको काम अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन्।

उक्त डुंगा दुर्घटनाको खास कारण अझै थाहा भैसकेको छैन तर प्रत्यक्षदर्शीहरुले डुंगा ढल्कीएर डुब्नु अघि कतै ठोक्किएको जस्तो आवाज सुनेको बताएका छन्।

दक्षिण कोरियाका राष्ट्रपतिले घटनाप्रति दु:ख व्यक्त गर्दै यो वास्तवमै वियोगको घडी भएको बताएकी छन्।

उक्त डुंगा संचालन गर्ने कम्पनीका एकजना कर्मचारीले क्षमायाचना पनि गरेका छन्।

दुर्घटनाका बेला त्यस क्षेत्रको मौसम ठीक रहेको बताइएको छ।

योनहाप समाचार एजेन्सीका अनुसार उक्त डुंगा नब्बे मिटर गहिराई भएको क्षेत्रमा डुबेको हो।