हवाइ अड्डा पुन: युक्रेनी सेनाको नियन्त्रणमा

  • 16 एप्रिल 2014
तस्वीर कपीराइट aptn
Image caption रुसले युक्रेनी गतीविधिले देशलाई गृहयुद्धतर्फ धकेल्ने चेतावनी दिएको छ

युक्रेनका कार्यवाहक राष्ट्रपति ओलेक्सेन्डार टुर्चीनोभले रुस समर्थक सशस्त्र समूहहरुसँगको लडाईंपछि युक्रेनी फौजहरुले पूर्वी युक्रेनको क्रामाट्रोस्कमा रहेको सैनिक हवाई अड्डा पुन: आफ्नो नियन्त्रणमा लिएको बताएका छन्।

राष्ट्रपति टुर्चीनोभले बिस्तारै र चरणबद्ध सैन्य कारवाही शुरु गर्ने बताएको केही घण्टापछि पृथकतावादीहरुको कब्जामा रहेको सो हवाइ अड्डा युक्रेनी नियन्त्रणमा आएको हो।

रुसी राष्ट्रपति भ्लादीमिर पुटीनले पछिल्लो सैन्य कारवाहीले युक्रेनलाई गृहयुद्धतर्फ धकेलेको चेतावनी दिएका छन्।

नियन्त्रण

सैनिकहरु बोकेको दुई वटा युक्रेनी हेलिकप्टर क्रामाट्रोस्कमा रहेको विमानास्थलमा ओर्लीएका छन्।

सो हवाइ अड्डा बाहिर भुइँमा पेट्रोल बम लस्करै राखेका करिव एक सय रुस समर्थक प्रदर्शनकारी बसिरहेका छन्।

बिमानस्थल बाहिर रहेका बीबीसीका सम्वाददाताका गाब्रिएल गेटहाउसका अनुसार निशस्त्र स्थानीय वासिन्दाले सो क्षेत्रमा घेरा हालेका छन् र आक्रोश व्यक्त गरिरहेका छन्।

उनीहरुले सो क्षेत्रको स्वतन्त्रताका लागि जनमत संग्रह गरिनुपर्ने माग गरेका छन्।

उक्त स्थानमा हताहतिको कुनै विवरण प्राप्त भएको छैन।

कार्यवाहक राष्ट्रपति टुर्चीनोभले सो विमानस्थल आतंकवादीहरुको हातबाट मुक्त गराइएको बताएका छन्।

स्लोभियानस्कबाट दक्षिणमा रहेको उक्त क्षेत्र रुस समर्थक समुहहरुले पूर्वी युक्रेनमा सरकारी भवनहरु कब्जा गरेका १० शहरहरु मध्ये एउटा हो।

बन्दुक सहितका युक्रेनका बख्तरबन्द गाडीहरु स्लोभियानस्क भन्दा ४० किलोमिटर उत्तरमा जम्मा भैरहेको जनाइएको छ।

चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा अचानक बढेको हिंसाले, उनकै शब्दमा, सो देशलाई गृहयुद्ध तर्फ धकेलेको बताएका छन्।

क्रेमलीनले जारी गरेको एउटा विज्ञप्तीमा राष्ट्रपति पुटिनले जर्मन च्यानस्लर एंगेला मर्केलसँग भएको कुराकानीमा त्यस्तो चेतावनी दिएको उल्लेख गरिएको छ।

दुवै नेताहरुले बिहिबार जिनिभामा रुस, युक्रेन, संयुक्त राज्य अमेरीका र युरोपेलि संघ विच हुने भनिएको वार्ताको विशेष महत्व रहेकोमा जोड दिएको सो विज्ञप्तीमा जनाइएको छ।

पछिल्लो कार्वाहीपछि सो वार्ताबारे अन्यौल बढेको छ।

रुसी विदेशमन्त्री सर्गेइ लाव्रोभले भने, “मैदानमा ट्ंयाक पठाउने र त्यही समयमा वार्ता गर्ने हुन सक्दैन्, जीनिभामा सुरु हुने चौपक्षिय छलफलले उपलब्ध गराएको अवसरलाई यो बल प्रयोगले तुहाइदिएको छ।”

अमेरिकी राष्ट्रपति ओबामाका एक जना प्रवक्ताले देशमा शान्ती सुव्यवस्था कायम गर्नु युक्रेनी अधिकारीहरुको जिम्मेवारी रहेको बताएका छन्।

खतरनाक

बीबीसीका रक्षा तथा कुटनीतिक मामिला सम्वाददाता जनाथन मार्कस भन्छन्, युक्रेन संकटको अहिले सम्मकै सबैभन्दा खतरनाक घडी अब आएको जस्तो देखिन्छ।

किएभमा रहेको सरकारले सुरु गरेको सुरक्षा कार्वाहीलाई रुसमा खतराको घन्टीको रुपमा लिइएको छ।

मस्कोका एक जना उच्च अधिकारीले घटनाक्रम एकदमै नकारात्मक परिस्थीतिबाट गुज्रन सुरु भएको बताएका छन्।

रुसको लक्ष्य स्पष्ट छ, उसले आफूलाई पूर्वी युक्रेनमा बस्ने रुसी भाषीहरुको संरक्षकको रुपमा देख्ने गरेको छ।

मार्कस भन्छन्, पृथकतावादीहरुले कयौं भवनहरु कब्जा जमाएपछी, किएभका अधिकारीहरु प्रतिक्रिया जनाउन बाध्य बनेका हुन्।

उनका अनुसार अहिलेको प्रश्न त्यो प्रतिक्रियालाई अब मस्कोले कुनै सैनिक कार्वाही अघि बढाउने बहानाका रुपमा लिन्छ कि लिदैँन भन्ने हो।