हत्या प्रकरणका आरोपित धरौटीमा रिहा

  • 17 एप्रिल 2014
तस्वीर कपीराइट .
Image caption आफ्ना छोराको हत्या गर्नेमाथि कारवाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अधिकारी आमरण अनशनमा छन्

सशस्त्र द्वन्द्व चलिरहेका बेला करीब दश वर्ष अघि गोरखाका किशोर कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा सरकारले दायर गरेको मुद्दाका अभियुक्त दुईजनालाई चितवनको अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

द्वन्द्वकालीन घटनामाथि मुद्दा दायर गरेको र आफ्ना कार्यकर्तालाई हिरासतमा राखेको भन्दै तत्कालीन विद्रोही एमाओवादीले बुधबारदेखि संसद अवरुद्ध पारेपछि सरकार चेपुवामा परेको थियो।

अधिकारीको घटनामा उनीहरुको कुनै संलग्नता वा प्रमाण नदेखिएको भन्दै अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आदेश

अधिकारीको हत्याको आरोपमा कर्तब्य ज्यानको मुद्दा दायर भएका छबिलाल पौडेल र भिमसेन पौडललाई क्रमश २० हजार तथा २७ हजार धरौटी वा धरौटी नबुझाए थुनामा पठाउन आदेश भएको चितवन जिल्ला अदालतका श्रेस्तेदार बिद्याराज पौडेलले बताए।

उनले न्यायाधीशको निर्णयलाई उद्धृत गर्दै थुनामा रहेका व्यक्ति विरुद्ध तत्काल उपलब्ध प्रमाण अपुग भएकाले थुनामा राख्न उपयुक्त नदेखिएको बताए।

उक्त आदेश चितवन जिल्ला अदालतका न्यायधीश बिनोदमोहन आचार्यको एकल ईजलासले गरेको हो ।

अन्य फरारको हकमा कारण खुलाएर वारेण्ट अर्थात पक्राउ पुर्जी जारी गर्न अदालतले आदेश दिएको छ ।

सरकारी वकील एकनारायण लम्सालले अधिकारीको हत्यामा संलग्न भनिएका १३ जनालाई सर्बस्व सहित जन्म कैदको माग गरेर मुद्दा दायर गरेका थिए ।

रिहा

प्रतिवादीहरुको तर्फबाट बरिष्ठ अधिबक्ता चण्डेश्वर श्रेष्ठ, मुक्तिनारायण प्रधान लगायत २९ जना अधिवक्ताले बहस गरेका थिए ।

आरोपी दुवै बिहीबार नै अदालतमा धरौटी जम्मा गरेर रिहा भएका छन् ।

जाहेरी वालाको तर्फबाट सरकारी वकील सहित ३ जनाले बहस गरेका थिए ।

अधिकारीका बुवा नन्दप्रसाद अधिकारी र आमा गंगामाया अधिकारीले छोराको हत्यारालाई कारवाहीको माग गर्दै अझ अनशन जारी राखेका छन् ।

कृष्णप्रसादका बाबुआमाको लामो समयदेखि जारी आमरण अनशन तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय दबाबबीच प्रहरीको लामो अनुसन्धान पछि दायर भएको उक्त मुद्दालाई चासोका साथ हेरिएको थियो।