निगमलाई भ्याट छुट दिन सरकारलाई सुझाव

  • 18 एप्रिल 2014
पेट्रोल हाल्दै
Image caption पेट्रोलियम पदार्थ बेच्दा घाटा भए पनि आयल निगमले मूल्य बढाउन खोज्दा चर्को विरोध हुने गर्छ

पेट्रोलियम पदार्थको सहज आपूर्तीको लागि आयल निगमको घाटा कम गर्नु पर्ने भएकोले त्यसका लागि सरकारले खाना पकाउने ग्यासमा लिंदै आएको भ्याटमा छुट दिनु पर्ने र निगमको ऋणको ब्याज घटाउनु पर्ने संसदीय अध्ययन तथा सुझाव समितिका एकजना सदस्यले बताएका छन्।

अहिले बजारमा फेरि पेट्रोलियम पदार्थको अभाव भएको अवस्थामा सरकारले सोहि समितिलाई आपूर्ति सहज बनाउने ‍उपाए सुझाउन आग्रह गरेपछि उनको यस्तो भनाई आएको हो।

एमाले सभासद समेत रहेका समितिका एकजना सदस्य राजेन्द्र पाण्डे भन्छन्, “सहज बनाउन नेपाल सरकारले पैसा दिनु पर्छ, हामी समितिमा बस्नेले सहज बनाउन चाहेर सहज हुँदैन्, आयल निगमले ग्याँसमा राज्यलाई भ्याट तिर्नु पर्या छ, अन्यत्र भ्याट लाग्दैन्, छुट गरिदिनु पर्यो राज्यले, सरकार ग्यारेण्टी बसेर ब्याङ्कसँग ऋण लिइदिन्छ, व्याङ्कले त्यो ब्याज पनि अलिकति सस्तो गरिदिन सक्छन्।”

प्रतिवेदन

अहिले भने भारतीय आयल निगमलाई नेपालले तिर्नु पर्ने रकम तिर्न नसकेकोले आपूर्तिमा समस्या आएको बताइएको छ।

झण्डै एक महिनाअघि सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाउदा व्यापक विरोध भएपछि मूल्य समायोजनबारे अध्ययन गर्न चैत १३ गते सत्ता पक्ष तथा प्रतिपक्षी दलहरु सहितको संसदीय अध्ययन तथा सुझाव समिति गठन भएको थियो।

एघार सदस्य रहेको उक्त समितिले बैशाख १३ गते सरकारलाई प्रतिवेदन बुझाउने बताइएको छ।

एक महिनामा आफ्नो प्रतिवेदन बुझाउने कार्यादेश पाएकोले पेट्रोलियम पदार्थको आपूर्तिबारे दीर्घकालीन समाधानको सुझाव समेत तयार गरीरहेको सभासद पाण्डेले बताए।

उपाए

उनले भने, “रक्सौलबाटै पाइपलाइन अमलेखगञ्जसम्म ल्याउने आँट राज्यले गर्नु पर्यो, ग्याँसको कारोबार उसले अर्को छुट्टै संस्थालाई दिन पनि सक्छ, आयल निगमबाट भएका चुहावट नियन्त्रण गर्ने कुरा पनि हुनसक्छ, तेलसंगै सम्बन्धित अरुचिज पनि उसले बेच्न सक्ने भो जसबाट अलिकति आम्दानी लिन सकिन्छ।”

पटक पटक पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आइरहने हुँदा विगतमा पनि सरकारले सुझावका लागि झण्डै आधा दर्जन आयोग र समितिहरु बनाए पनि त्यसले दिएका सुझावहरु कार्यान्वयन नभएको बताइन्छ।

यसपटक भने आफ्ना सुझावहरु कार्यान्वयन गराउन सरकारमाथि संसदीय समितिले दवाव सिर्जना गर्ने समितिको भनाई छ।