'डुँगा उद्धार गर्न दुई महिनासम्म लाग्न सक्ने'

  • 19 एप्रिल 2014
तस्वीर कपीराइट AP
Image caption डुँगामा सवार झन्डै २ सय ६८ मानिसहरु बेपत्ता छन्

दक्षिण कोरियाली अधिकारीहरुले भनेका छन्, गत बुधबार दुर्घटनाग्रस्त भ‌एको डुँगालाई बाहिर निकाल्न दुई महिनासम्म लाग्नसक्छ।

डुबेको डुँगा सँगै दुईवटा ठूलुठूला क्रेनहरुपनि सँगै छन्, तर अधिकारीहरुले डुँगा भित्र कोही पनि जीवित छैनन् भन्ने निश्चित भएपछि मात्रै तिनको प्रयोग गरिने जनाएका छन्।

दक्षिण कोरियाली अधिकारीहरुले गत बुधबार दुर्घटनाग्रस्त भ‌एको डुँगालाई बाहिर निकाल्न कैयौं साता लाग्न सक्ने बताए। आपत्कालिन व्यवस्थापन केन्द्रका प्रमुख शिन वन नामले भने, "यति नै समय लाग्छ भन्ने बारे हामी अझै निश्चित छैनौं। तर हाम्रा विशेषज्ञहरुका अनुसार उद्धार कार्यमा एक, दुई महिना लाग्नसक्छ।"

उद्धार

खोजी कार्य ढिला भएको भन्दै यात्रुहरुका परिवारका सदस्यहरुले क्रुद्ध प्रतिकृया जनाएका छन्।

तर केही परिवारजनले भने हराइरहेका यात्रुका डिएनए नमुना अधिकारीहरुलाई दिएका छन्।

सेनाका एकजना गोताखोर लि जोङ सुङले दुर्घटनास्थल नजीकै पानीको बहाव तीव्र भएकाले उद्धार कार्य बीचमै छाडनु परेको बताए।

दक्षिण कोरियाको समुन्द्रमा पल्टिएर डुब्दा करीब २ सय ७५ जानु यात्रु बेपत्ता भएको डुंगाका प्रमुख चालकलाई पक्राउ गरिएको छ।

६९ बर्षीय ली जुन सकले यात्रुहरु बग्ने डरले आफूले डुब्न लागेको डुंगा खाली गर्न आदेश नदिएको बताएका छन्।

योनह्याप समाचार संस्थाका अनुसार उनीमाथि काममा लापर्वाही गरेको र समुद्री गतिविधि सम्बन्धी कानुन उल्लंघन गरेको सहितका पाँच वटा आरोप लगाइएको छ।

लीलाई चालक दलका अन्य दुई सदस्य सहित शुक्रबार गिरफ्तार गरिएको थियो।

माफी

यात्रुहरुलाई पल्टिन लागेको डुंगालाई तत्काल खाली गर्न आदेश नदिएकोमा उनको आलोचना भएको छ।

प्रहरीले बयान लिइरहेका लीलाई बिहिबार टेलिभिजनमा देखाइएको थियो जहाँ आफ्नो अनुहार आधा निहुराएर उनले पीडित र उनीहरुका आफन्तसँग मागी मागेका थिए।

उनले भने, “म भित्रैबाट माफी माग्न चाहन्छु र ज्यादै लज्जीत छु, यसलाई कसरी व्यक्त गरौं मलाई थाहा छैन।”

लीलाई आफ्नो काममा लापर्वाही गरेको र समुद्री गतिविधि सम्बन्धी कानुनको उल्लंघन गरेको आरोप लगाइएको अभियोजक र तटरक्षक सेवाका अधिकारीहरुले बताएका छन्।

पल्टिन लागेको समयमा प्रमुख चालक नभइ एक जना तल्लो तहका कर्मचारीले डुंगा चलाइरहेको खुलासा भएको थियो।

डुब्नुअघि डुंगा किन जोडले मोडियो र डुंगा खाली गर्ने सूचना दिइयो कि दिइएन भन्नेबारे जारी अनुसन्धान केन्द्रित रहेको छ।

जीवितै उद्धार गरिएका यात्रुहरुले आफूहरुलाई डुंगा खाली गर्नु नभनी आफ्नै स्थानमा बसिरहन भनिएको जनाएका छन्।