समुन्द्रमा भएको डुंगा दुर्घट्ना हत्या सरह: राष्ट्रपति

  • 21 एप्रिल 2014
दुर्घट्नामा परेका यात्रुका आफन्त तस्वीर कपीराइट AP
Image caption डुंगा दुर्घट्नामा परेकाहरुका आफन्तले उद्धारमा ढिलाई भएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्

दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुन हेले डुंगा दुर्घट्ना हत्या घट्ना सरह भएको बताएकी छन्।

राष्ट्रपति हेले दुर्घट्ना लगत्तै सरकारको उठाउनु पर्ने प्रारम्भिक कदममा गम्भीर समस्या रहेको पनि स्वीकार गरिन।

दुर्घट्नामा परेका यात्रुका आफन्त उद्धारमा ढिलाई भएको भन्दै आक्रोशित बनेपछि उनको त्यस्तो धारणा आएको छ।

खुलस्त

दक्षिण कोरियाली तट रक्षक र बुधवार समुन्द्रमा डुबेको डुंगाका कर्मचारी समूहबीच भएको अन्तिम कुराकानीको विस्तृत विवरणले त्यसबेला डुंगामा उत्पन्न अन्यौल र संन्त्रास खुलस्त पारेको छ।

बीबीसीका जनाथन हेड भन्छन्, “यात्रुहरु बाहिर निसक्नु भन्दा पहिला नै प्रमुख चालकले पानी जहाज छोडेका थिए, धेरै यात्रुले आफूले कुनै सुचना नसुनेको बताएका छन्, अब अनुसन्धान त्यसै विषयमा केन्द्रित हुने ठानिएको छ।”

सार्वजनिक गरिएको कुराकानीको लिखित प्रतिलिपिमा डूंगा कर्मचारी आतालिएको र उपयुक्त समयमा निर्णय लिन नसकेको संकेत गर्छ।

राष्ट्रपति हेले डुंगाका प्रमुख चालक र केही कर्मचारीहरुको व्यवहार सह्य हुन नसक्ने चेतावनी पनि दिएकी छन्।

अधिकारीहरुले यात्रु र डुंगा कर्मचारी मोवाइल-फोनबाट पठाइएका सयौं सन्देशहरुको अनुसन्धान गरिरहेका छन्।

स्वीकार

दुई पक्षबीचको कुराकानीमा डुंगा कर्मचारीले उद्धारका निम्ति पानी जहाजहरु भए नभएको जान्न खोज्दा अधिकारीहरुले उनीहरुलाई यात्रुहरुले लाईफ ज्याकेट लगाएको कुरा सुनिश्चित गर्न बारम्बार आग्रह गरेका छन्।

पक्राउ परेका डुंगाका प्रमुख चालकले डुंगा खाली गराउन आदेश दिन ढिलो भएको स्वीकार गर्दै यात्रु डुब्ने डरले त्यसो गर्न नसकेको बताएका छन्।

दुर्घट्नामा ज्यान गुमाएका ६४ जनाको शव फेला परेको र २३८ जना अझै वेपत्ता रहेको अधिकारीहरुले जनाएका छन्।

डुंगामा सवार ४ सय ७६ जना यात्रुहरु मध्ये १ सय ७४ जना यात्रुको उद्धार गरिएको थियो।

डुंगामा एउटा स्कूलका ३३९ जना विद्यार्थी र शिक्षकहरु पनि सवार थिए।