रियो द जेनैरोमा हिंसा

  • 23 एप्रिल 2014
तस्वीर कपीराइट AFP
Image caption झोपडी रहेका बस्तीहरुमा सुरक्षाका लागी सैनिक प्रहरी परिचालन गरिएको छ।

ब्राजिलको रियो द जनैरोमा एकजना नृत्यकारलाई एउटा प्रहरी दस्ताले लागू औषध विक्रेताको आशंकामा कुटपिट गर्दा उनको ज्यान गएपछी हिंसा चर्किएको छ।

उक्त हत्याको विरोधमा प्रदर्शनकारीहरुले एउटा मुख्य पर्यटकीय क्षेत्रको सडकमा टायर बलेर कारहरुमाथी आगजनी गरेका छन्।

मंगलबार भएको हिंसामा एक जना प्रदर्शनकारी मारिएका थिए।

धुवाँ

प्रत्यक्षदर्शीहरुले कारहरु आगो लगाइएको, एउटा प्रहरी चौकीमाथी आक्रमण गरीएको र गोली चलेको अवाजहरु सुनिएको बताएका छन्।

पाभाओ पाभाओजीन्हो नजिकैका एक जना स्थानियले भने,“सबैतिर धुवाँको मुस्लोमात्र थियो, गोली चलिरहेको थियो र मानिसहरु घर जान भागदौड गरिरहेका थिए।”

२६ बर्षिय व्यवसायीक नर्तक डोग्लस राफेल डी सिल्भाको हत्या भएपछि दंगा सुरु भएको थियो।

परिवारका सदस्यका अनुसार घाउ नै घाउ सहितको उसको मृत शरिर फेला परेको थियो।

उनीहरुले प्रहरीले लागु औषध विक्रेताको आशंकामा प्रहरीले हत्या गराएको आरोप लागेको छ।

एएफपी समाचार संस्थाका अनुसार प्रहरीले उक्त घटनाको छानबिन भैरहेको जनाएको छ।

एमनेष्टी इन्टरनेश्नलका अनुसार ब्राजिलमा प्रत्येक बर्ष २ हजार व्यक्तिहरुको प्रहरी हिंसामा परेर ज्यान जाने गरेको छ।

साथै डोग्लासको चोटहरु हेर्दा लडेर ज्यान गएको हुनसक्ने घटनास्थलको प्रतिवेदनलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

गिरोह

बीबीसीका एक सम्वाददाताका अनुसार रियोको प्रसिद्ध पर्यटकिय क्षेत्र नजिकै रहेको झोपडी बस्तीको प्रवेशद्वारमा हत्याबारे स्पष्टीकरण माग गर्दै ठूलो भिड जम्मा भएको छ।

प्रदर्शन भैरहेको स्थानमा बख्तरबन्द गाडीहरु सहित शैनिक प्रहरीहरु परिचालन गरिएको छ।

विश्वकप फुटबल अघि बज्रिल सरकारले रियोमा सक्रिय लागू पदार्थ विक्रि गर्ने समूहमाथिको कार्वाहीलाई तिव्र पारेको छ।

तर कतिपय स्थानमा प्रहरी कार्वाही फितलो भएको र अझैपनि शहरका केही भागहरु त्यस्ता गिरोहहरुको नियन्त्रणमा रहेको सम्वाददाताहरु बताउँछन्।

आगामी जुन १२ मा साओ पाउलोमा सुरु हुने विश्वकप फुटबल रियोको प्रसिद्ध माराकाना रंगशालामा जुलाई १३ तारिखमा समापन हुनेछ।