सरकारी टोली सगरमाथा आधारशिविर जाने

  • 23 एप्रिल 2014
Image caption आधारशिविरमा भएको छलफल सरकारी टोली नपुग्दासम्मको लागि स्थगित गरिएको बुझिएको छ

अघिल्लो साता हिमपहिरोमा परी ज्यान गुमाएका शेर्पा आरोहीका परिवार तथा सरोकारवालाहरुलाई भेट्न र उनीहरुका गुनासा सुन्न सरकारी प्रतिनिधि सहितको उच्चस्तरीय टोली सगरमाथा आधार शिविर जाने भएको छ।

गत शुक्रबार हिमपहिरोमा परी १३ जना शेर्पा आरोहीको ज्यान गएपछि उनीहरुका आफन्त र सरोकारवाला पक्षले आरोहीको सुरक्षा र आरोहण व्यवस्थाबारे सरकारले उदासीनता देखाएको भन्दै असन्तोष व्यक्त गर्दै आएका छन्।

सगरमाथामा गएको अहिलेसम्मकै सबैभन्दा विनाशकारी मानिएको हिमपहिरोमा गत शुक्रबार दर्जन भन्दा बढी शेर्पा आरोहीको ज्यान गएपछि, आरोहणसंग सम्वद्ध विभिन्न सरोकारवालाहरुले शेर्पाहरुको सुरक्षा, बिमा, क्षतिपूर्तिलगायतका सुविधा वृद्धिका माग राख्दै आएका थिए।

आरोहीहरुको सुरक्षा व्यवस्था सम्बन्धी पटकपटक बसेको बैठकपछि मंगलबार सरकारले ज्यान गुमाएका आरोहीका परिवार र घाइते परिवारलाई पाँच लाख रुपैँया थप आर्थिक सहायता गर्ने र अहिले दिँदै आएको जीवन बिमा र स्वास्थ्य बिमाको रकम समेत वृद्धि गर्ने घोषणा गरेको थियो।

सहायता

सरकारको उक्त घोषणाप्रति आरोहीहरुको कुनै प्रतिकृया प्राप्त नभएपछि सरकारी पक्षले बुधबार पुन: सरोकारवालासँग छलफल गरी आधारशिविर नै पुगेर सहायतासम्बन्धी निर्णय सुनाउने पर्यटन मन्त्रालयले जनाएको छ।

पर्यटन महाशाखा प्रमुख मधुसुदन बुर्लाकोटीले भने, “उहाँहरुको पीडा सुन्न र सरकारले गरेको आर्थिक सहायताको निर्णय सुनाउन हामी यथाशिघ्र त्यसतर्फ जान्छौं।”

शुक्रबारको दुर्घटना पछि यो वर्ष हिमाल आरोहणमा जाने कि नजाने भन्ने परस्पर विरोधी धारणा शेर्पा आरोही समूहबाट आइरहेको भन्ने समाचारहरुका माझ बुधबार पनि काठमाडौं र सगरमाथा आधारशिविरमा आरोहण सम्बन्धी सरोकारवालाहरुले छुट्टाछुट्टै छलफल गरेका थिए।

समस्या

पर्वतारोहणको माध्यमबाट मुलुकको छवि उच्च बनाउन मद्दत गर्ने शेर्पा आरोहीको मागका सम्बन्धमा उनीहरुको गुनासो सुनी समस्याको समाधान गरिने बुर्लाकोटीले बताए।

उनले भने, “देशको प्रतिष्ठा जोगाउन ठूलो सहयोग गर्ने उहाँहरुको मागका सम्बन्धमा विचार गरी त्यसबारे समाधानको बाटो थालिने छ।”

शुक्रबारको हिमपहिरोमा हराइरहेका तीनजना अझै बेपत्ता छन्।

खुम्बु आइसफल भनिने करीब ५,९०० मीटरको उचाइमा भएको उक्त दुर्घटनामा बेपत्ता भएका उनीहरुलाई सकुशल फेला पार्न सकिने आशा नरहेको बताइएको छ।