'शेर्पा पथप्रदर्शकहरुको माग जायज'

  • 23 एप्रिल 2014
सर्वोच्च शिखर सगरमाथा तस्वीर कपीराइट AP
Image caption शेर्पा पर्वतारोहीहरुले व्यहोर्नुपरिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको छ

एडमण्ड हिलरीसँगै पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका स्वर्गीय तेन्जीङ नोर्गे शेर्पाका छोरा जाम्लिङ तेन्जीङ नोर्गेले शेर्पा पथप्रदर्शकहरुको माग जायज भएको बताएका छन्।

उनले सगरमाथा आरोहणमा संलग्न शेर्पा पर्वतारेाहीहरुको सुरक्षा र तिनका परिवारको भरणपोषणकालागि थप काम गर्न नेपाल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गरेका छन्।

सगरमाथा क्षेत्रमा गत शुक्रबार गएको हिउँपहिरोमा ज्यान गुमाएका १३ जना शेर्पा पथप्रदर्शक एवम् सहयोगीहरुलाई भावपूर्ण अन्त्येष्ठी गरिएको थियो।

बौद्ध भिक्षुहरुले मन्त्र पढेर उनीहरुको आत्माको चिरशान्तिको कामना गरेका थिए।

ध्यानाकर्षण

सर्वोच्च शिखर सगरमाथामा शेर्पा पर्वतारोहीहरुले व्यहोर्नुपरिरहेको जोखिमबारे अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भैरहेको छ।

एडमण्ड हिलरीसँगै सर्वोच्च शिखर सगरमाथाको शिखर पहिलो पटक चुमेका स्वर्गीय तेन्जीङ नोर्गेका छोरा जाम्लिङ तेन्जीङ नोर्गेले पर्वतारोहणका क्रममा शेर्पा आरोहीहरुले ठूलो जोखिम व्यहोरिरहनु परेको स्मरण गराउँछन्।

बीबीसीसँग कुरा गर्दै उनले भने, “सगरमाथामा उनीहरुले गर्ने काम निकै जोखिमपूर्ण छ। उनीहरुले दुई महिनाको आफ्नो कडा मिहिनेतकालागि झण्डै तीन देखि पांचलाख रुपियाँ कमाउँछन्। र उनीहरुको बीमा उनीहरुको परिवारको खर्च र केटाकेटीको शिक्षादिक्षाको लागि पर्याप्त छैन।”

यो बर्ष पर्वतारोहण शुरु हुनुअघि विदेशी पर्वतारोहीहरुकालागि बाटो बनाउन, डोरी गाडने लगायतका काम गर्न स्थानीय शेर्पा तथा तामाङ पथप्रदर्शक तथा सहयोगीहरु 'खुम्बु आइसफल' भनिने क्षेत्रमा पुगेका बेला उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा बाँच्न सफल चारजना घाइतेहरुको काठमाण्डौमा उपचार भैरहेको छ।

आक्रोश

उक्त दुर्घटनापछि पर्वतारोहणबाट वार्षिक करोडौं रुपियाँ आम्दानी गर्ने नेपाल सरकारले मृतक तथा उनका परिवारहरुको रेखदेखकालागि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै शेर्पा समुदायले कडा आक्रोश व्यक्त गरेका छन्।

मँगलबार सरकारले बीमा रकम बढाउने तथा मृतकका परिवारहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

तर हाल भारतको दार्जिलिङमा बसोबास गरिरहेका जाम्लिङ तेन्जीङ नोर्गेले भने, "शेर्पा पथप्रदर्शकहरु नेपाल सरकारले व्यापारिक आरोहण टोलीहरुलाई उनीहरुकालागि राम्रो बीमा योजना ल्याउन लगाओस् भन्ने चाहन्छन्। अहिले गरिने झण्डै पाँच लाख रुपियाँको जीवन बीमा एकदमै अपर्याप्त छ।"

शेर्पा पथप्रदर्शकहरुकालागि पर्वतारोहणको बढ्दो व्यापारिक शैलीले पनि जोखिम बढाएको जानकारहरु बताउँछन्।

फरक

सन् १९९६ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका जाम्लिङ तेन्जीङ नोर्गेले एकसठ्ठी बर्ष अघि आफ्ना पिता तेन्जीङ नोर्गे र एडमण्ड हिलरीले पहिलोपटक गरेको सगरमाथाको आरोहण र अहिलेको आरोहणमा निकै फरक आएको बताउँछन्।

उनले भने, "त्यसबेला मेरो बुवा र हिलरी सगरमाथा चढदा् शेर्पा तथा पश्चिमी आरोहीहरु दुबै सँगै काम गर्दथे। उनीहरुले सँगै भारी बोक्थे, सँगै डोरीहरु बाँध्थे र एउटा टिमको रुपमा सँगै काम गर्दथे। अहिले त पश्चिमा पर्वतारोहीहरु बेसक्याम्पमा बसेर कफी पिइरहेका बेला शेर्पाहरु चाहिँ पर्वतारोहीहरुको आरोहण सजीलो बनाउन हिमाली क्षेत्रमा पच्चीस, तीस पटकसम्म ओहोरदोहोर गर्दछन्।“

जानकारहरु भन्छन्, शेर्पा समुदायका पथप्रदर्शकहरुको सहयोग विना सगरमाथाको शिखर चुम्ने विदेशी पर्वतारोहीहरुको सपना पुरा हुन असंभव जस्तै हुन्छ।

तर त्यसकालागि सबैभन्दा बढी जोखिम व्यहोर्ने नेपाली शेर्पा समुदायको सुरक्षा र उनीहरुको परिवारको भरणपोषणको विषयलाई पनि उच्च महत्व दिइनुपर्ने उनीहरु बताउँछन्।