नेतृत्व चयनसँगै संविधान लेखनको बाटो खुल्ने

  • 25 एप्रिल 2014
संवधानसभाको मतदान तस्वीर कपीराइट BBC Nepali Binita Dahal
Image caption चुनाव भएको पाँच महिनापछि संविधान लेख्ने खुला हुन लाग्दा पनि २६ सभासदको मनोनयन बाँकी नै छ

संविधान लेखनका निम्ति महत्वपूर्ण ठानिएका संविधानसभाका समितिहरुमा आज साँझ नेतृत्व चयन गरिँदैछ।

त्यससँगै संविधान लेखनको मार्ग प्रसस्त हुनेछ।

संविधानसभामा सबैभन्दा महत्वपूर्ण एवं शक्तिशाली मानिएको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समिति बाहेक अन्यमा एक-एकजनाको मात्रै उम्मेदवारी परेको छ।

उम्मेदवारी

संविधान मस्यौदा समितिमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिमा एमालेका विष्णु पौडलको उम्मेदवारी परेको छ।

क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिमा मधेशी जनअधिकार फोरम नेपालकी लक्ष्मीकुमारी चौधरी र नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा नेकपा संयुक्तकी प्रमिला रानाले मात्रै मनोनयन दर्ता गराएका छन्।

समितिका सभापतिका लागि मुख्य दलबीच सहमति भइसकेकाले उक्त नेतृत्व चयन प्रकृया औपचारिकता मात्र हुने देखिन्छ।

समितिमा एकीकृत माओवादीका नेता बाबुराम भट्टराई र एउटा सानो दलका सभासदले उम्मेदवारी दिएको समितिमा मात्र चुनाव हुनेछ।

विरोधी आवाज

प्रक्रियाबारे संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्मा भन्छन्, “उम्मेदवारी फिर्ता लिने व्यवस्था नभएकाले मतदान हुने स्थिति देखिएको छ तर निर्वाचनको निम्ति हुने बैठकमा उम्मेदवार पछि हट्न चाहेमा निर्विरोध निर्वाचति भएको घोषणा गर्न सकिने प्रावधान छ।”

तर तीनवटै मुख्य दलको समर्थन पाएका भट्टराई चयन हुने निश्चितनै छ।

आगामी सोमबारसम्ममा समितिहरुको सभापति चयन गर्ने कार्यतालिका भएपनि त्यसअघि नै टुंगिन लागेको छ।

सभापतिहरुको चयनका लागि तयारी भइरहंदा ती समितिलाई पहिले पूर्णता दिनुपर्ने तथा २६ जना मनोनित सभासद्को पनि टुंगो लगाउनु पर्ने विरोधी आवाजहरु समेत केही कोणबाट आएका छन्।