संविधानसभाका समितिले नेतृत्व पाए

  • 25 एप्रिल 2014
Image caption निर्वाचित सभापतिहरुको शपथ शनिवार हुने तय भएको छ

निर्वाचन भएको पाँच महिनापछि संविधान लेखनको काम शुरु गर्ने संविधानसभा अन्तर्गतका पाँचवटा समितिहरुमा शुक्रबार सभापतिहरु निर्विरोध चयन भएका छन्।

पाँचमध्ये विषयगत तीनवटा समितिमा प्रमुख तीन दलका नेताहरु र प्रकृयागत दुई समितिमा मधेसी र एक साना दलका नेतृहरु सभापतिमा चयन भएका छन्।

तीन विषयगत समितिमा तीन दलका प्रभावशाली नेताहरु निर्वाचित भएका छन्।

संविधानसभा अन्तर्गतका पाँच समितिहरु मध्ये विषयगत तर्फको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा एकीकृत माओवादीका तर्फबाट बाबुराम भट्टराई, सँविधान मस्यौदा समितिमा नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला र सँविधान अभिलेखन तथा निर्क्यौल समितिमा एमालेका तर्फबाट विष्णु पौडेल सभापतिमा चयन भएका हुन्।

सकारात्मक

दलहरुको सहमति बमोजिम प्रकृयागत समिति तर्फ नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा नेकपा संयुक्तकी प्रमिला राना र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिमा मधेसी जनअधिकार फोरम नेपालकी लक्ष्मी चौधरी सभापतिमा चुनिएका छन्।

दलहरुबीच संविधान लेखन अगावै देखिएको यस्तो सहमति सकारात्मक भन्दै यसलाई निरन्तरता दिएर तोकिएकै समयभित्र संविधान जारी गर्न दलहरु अग्रसर हुनुपर्ने पहिलो संविधानसभाको संवैधानिक समितिका सभापति रहेका निलाम्बर आचार्यले बताए।

उनले भने, “एउटा सहमतिले अर्को सहमतिलाई मद्दत गर्दछ त्यसैले मैले यसलाई राम्रो लक्षण देखेको छु। यस्तै प्रकृया यस्तै सहमतिको बाटो बनाउँदै लैजानुपर्छ तब संविधान निमार्णको काम सम्पन्न हुन्छ।”

तर संविधानसभा चुनावमा चौथो भएको राप्रपा नेपालले भने ठूला दलहरुले पाँच समितिमध्ये आफूहरुलाई एउटामा पनि समावेश नगरेको विरोधमा चुनावी प्रक्रिया बहिष्कार गरेको थियो।

टुंगो

संविधानसभाको कार्यतालिका अनुसार अब संविधानसभाभित्रका समितिहरुले चरण चरणमा काम गर्दै पहिलो मस्यौदा असोजभित्र तयार पारी जनमत सँकलनमा निम्ति लैजानेछन्।

जनमतलाई समेटेर माघ ८ गतेसम्ममा संविधान जारी गर्ने कार्यतालिका रहेको छ।

तर संविधानसभा निर्वाचन भएको पाँच महिना बितीसक्दा समेत अझै २६ जना मनोनित हुने सभासदबारे दलहरुले टुँगो लगाउन सकेका छैनन्।