रुस विरुद्ध थप नाकावन्दीहरु लगाइने: जी सेभेन

  • 26 एप्रिल 2014
जी सेभेन नेताहरु तस्वीर कपीराइट AP
Image caption जी सेभेन नेताहरुले रुसमाथि पूर्वी युक्रेनलाई अस्थिर तुल्याइरहेको आरोप लगाएका छन्

सातवटा औद्योगिक मुलुकहरुको समूह, जी सेभेनका नेताहरुले भनेका छन्, उनीहरु रुस विरुद्ध लक्षित नाकावन्दीहरुलाई अरु तीव्र बनाउन तत्काल काम गर्न सहमत भएका छन्।

उनीहरुले रुसमाथि पूर्वी युक्रेनलाई अस्थिर तुल्याउन पृथकतावादी कृयाकलापहरुलाई समर्थन दिइरहेको आरोप पनि लगाएका छन्।

जी सेभेनद्वारा प्रकाशित वक्तव्यमा नाकावन्दीहरुबारे केही जानकारी दिइएको छेन।

तर अमेरिकी अधिकारीहरुले सोमबारसम्ममा थप नाकाबन्दीहरुको घोषणा गरिनसक्ने जनाएका छन्।

विद्रोह

युक्रेनको क्राइमिया क्षेत्रलाई आफुमा गाभेपछि पनि रुसले पूर्वी युक्रेनका अन्य भूभागहरुमा पनि पृथकतावादी विद्रोहलाई बढावा दिइरहेको पश्चिमा मुलुकहरुको भनाइ छ।

तर रुसले पश्चिमा मुलुकहरुले युक्रेनमाथि नियन्त्रण जमाउन खोजेको बताउँदै आएको छ।

यसैबीच, युरोपेली सहयोग तथा सुरक्षा संगठनकालागि रुसी दूतले भनेका छन्, पूर्वी युक्रेनमा बन्दी बनाइएका युरोपेली सैन्य पर्यवेक्षकहरुलाई रिहा गराउन मस्कोले हरसंभव प्रयास गर्नेछ।

शुक्रबार स्लोभियान्स्क शहरमा रुस समर्थित सशस्त्र समूहहरुले आठजना युरोपेली पर्यवेक्षकहरु तथा युक्रेनी सेनाका कैयौ- अधिकारीहरुलाई आफ्नो कब्जामा लिएका थिए।

स्थानीय मिलिसियाहरुले उक्त टोलीमाथि जासुसी गरेको आरोप लगाएका छन्।

नियन्त्रण

ती मिलिसियाहरुले बीबीसीका संवाददातालाई बन्दूक देखाएर केहीबेर नियन्त्रणमा राखी पछि छाडीदिएका थिए।

उनले भने, सो शहरमा अहिले कानुनविहीनताको स्थिति छ र त्यहाँ सैन्य कारवाही हुनसक्ने मानिसहरुमा त्रास छ।

यसअघि रुसले पूर्वी युक्रेनमा मस्को समर्थक पृथकतावादीहरुविरुद्धको कारवाही कियभलाई रोक्न लगाउन अमेरिकालाई आग्रह गरेको थियो।

रुसले उक्त कारवाहीसँगै सीमा क्षेत्रमा नयाँ सैनिक अभ्यास थाल्न आदेश दिएको छ।

उक्त कार्यको युक्रेनले निन्दा गरेको छ।

तैनाथ

मस्कोले युक्रेनसँगको सीमा क्षेत्रमा दशौ हजार सेना तैनाथ गरेको छ।

युक्रेनका कार्यवाहक रक्षामन्त्री मिखाइल कोभालले रुसी सैनिकहरु सीमाको एक किलोमिटर नजिक रहेको समाचार एजेन्सी इन्टरफ्याक्स युक्रेनलाई बताएका छन्।

पूर्वी युक्रेनमा भईरहेका गतिविधिलाई लिएर रुस र अमेरिकाबीच वाक्युद्ध जारी रहेका बेला उक्त समाचार आएको हो।

केन्द्रीय सरकारको अवज्ञा गर्दै रुस समर्थक पृथकतावादीहरुले युक्रेनको पूर्वी क्षेत्रका दर्जनौं शहरहरुमा रहेका मुख्य सरकारी भवनहरुमा कब्जा जमाएका छन्।