'नियुक्तिको सिफारिशबारे पुनर्विचार हुनुपर्छ’

  • 27 एप्रिल 2014
Image caption न्याय परिषद्को सिफारिश यति धेरै विवादित बनेको यो पहिलो पटक भएको बताइन्छ

नेपाल बार एसोसिएसनले आइतबार डाकेको एउटा बैठकमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पद पूर्ति गर्न न्याय परिषद्ले हालै सिफारिश गरेका नामहरुबारे पुनर्विचार गर्न औपचारिक आग्रह गर्नुपर्ने सुझाव दिएका छन्।

न्याय परिषद्ले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश पदमा नियुक्तिका लागि हालै गरेको सिफारिशलाई लिएर चर्किदै गएको विरोध तथा आलोचनाबीच कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले त्यसबारे छलफल गर्न आफ्ना सल्लाहकारहरुको बैठक डाकेको थियो।

बारका पूर्वअध्यक्ष शम्भु थापाले सिफारिशबारे संसदलाई पुनर्विचारका लागि आग्रह गर्नुपर्ने बताए।

पुनर्विचार

उनी भन्छन्, ‘’अधिकांश सहभागीहरुले सिफारिश गरिएका नामबारे पुनर्विचार गर्नका लागि संसदलाई बारले पत्र लेख्नुपर्ने धारणा राखे।‘’

परिषद्ले गत मंगलबार सर्वोच्च अदालतमा स्थायी न्यायाधीश पदमा नियुक्तिका लागि स्थायीको पदावधी सकिएर पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा फर्किएका वैद्यनाथ उपाध्यायसहित ओमप्रकाश मिश्र, गोपालप्रसाद पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र समशेर जबरा र जगदीश शर्मा पौडेललाई सिफारिश गरेको थियो।

तीमध्ये पुनरावेदन अदालत बुटवलमा कायममुकायम मुख्य न्यायाधीश रहेका जबरालाई सर्वोच्च अदालतको संयुक्त इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलामा उनी विशेष अदालतमा न्यायाधीश रहँदा भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो।

धारणा

बारका सल्लाहकारहरुको बैठकमा व्यक्ति विशेषबारे नभई समष्टिगत धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिइएको अर्का सहभागी बारका पूर्वमहासचिव विजय मिश्रले बताए।

उनी भन्छन्,‘’बारले कुनै व्यक्ति विशेषको इतिहास केलाउनु भएन, बरु सिफारिश गरिएकाहरु किन गरिए र नगरिएकाहरु किन भएनन् भन्नेबारे धारणा सार्वजनिक गर्नुपर्छ।‘’

आलोचकहरुले अहिले सिफारिश गरिएका सबै जना न्यायाधीशमा नियुक्त भए कालान्तरमा त्यसले न्यायपालिकाको निष्पक्षतामा गम्भीर असर पार्नुका साथै अदालतप्रतिको जनविश्वास नै घटाउने बताएका छन्।

सर्वोच्चका पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी र अनुपराज शर्माले त सिफारिशमा परेका केहीलाई संसदले अनुमोदन गर्न नहुने अभिव्यक्ति दिएका छन्।