युक्रेनमा रुस समर्थकले कब्जामा लिएकाहरुलाई मुक्त गर्ने प्रयास जारी

  • 28 एप्रिल 2014
रुस समर्थक विद्रोही सैन्य तस्वीर कपीराइट Reuters
Image caption क्राइमिया टुक्रिएपछि पूर्वी युक्रेनमा स्वतन्त्रताको माग गर्दै भइरहेको विद्रोहले हिंसात्मक रुप लिइरहेको छ

रुस समर्थक पृथकतावादीहरुले पूर्वी युक्रेनमा गत शुक्रवारदेखि कब्जामा लिएका आठजना अन्तर्राष्ट्रिय सैनिक पर्यवेक्षकहरुमध्ये एकजनालाई रिहा गरेका छन्।

स्वीडेनका ती पर्यवेक्षकको स्वास्थ्य स्थितिका कारण उनलाई रिहा गरिएको बताइएको छ।

रुस समर्थक पृथकतावादीहरुले उनीसँगै अर्गनाइजेशन फर सिक्युरिटी एण्ड को-अपरेशन इन युरोप (ओएससीई) सम्बद्ध ८ जनलाई बन्दी बनाएका थिए।

पृथकतावादीहरुका एकजना प्रवक्ताले बीबीसीलाई बताएका अनुसार ती सैनिक पर्यवेक्षकलाई मधुमेह भएकाले छाडिएको हो।

प्रस्तुत

रुसले ठूलो मात्रामा ओएससीई सम्बद्ध सैन्य पर्यवेक्षकलाई युक्रेन प्रवेश गर्न सहमति जनाएको थियो।

कब्जामा परेकाहरु समेत ओएससीई राष्ट्र सम्बद्ध अन्य पर्यवेक्षकहरु युक्रेन सरकारको आग्रहमा त्यहाँ पुगेका थिए।

जसमा जर्मनी, पोल्याण्ड, स्वीडेन, डेनमार्क र चेक गणतन्त्रका पर्यवेक्षक छन्।

नकाब लगाएका एकजना बन्दूकधारीले आइतवार उनीहरुलाई संचारमाध्यम समक्ष प्रस्तुत गरेका थिए।

उनीहरुको रिहाइको निम्ति पनि अन्तर्राष्ट्रिय कुटनीतिक प्रयत्न जारी छ।

बैठक

पृथकतावादी समूहसँग कुरा गर्दै जर्मनीका एकजना कर्णेलले अपहरित पर्यवेक्षक नेटोका अधिकारी नभएको बताएका थिए।

रुसले पनि उनीहरुको रिहाइको निम्ति सहयोग गर्ने वचन दिएको छ।

युक्रेनमा जारी संकटका माझ ब्रिटेनले त्यहाँका सत्ताच्युत राष्ट्रपति भिक्टर यानुकोभिचको कार्यकालमा चोरिएका भनिएका सरकारी सम्पति फिर्तीको निम्ति यसै साता एउटा अन्तर्राष्ट्रिय बैठक आयोजना गर्ने बताएको छ।

बीबीसीका एकजना सम्वाददाताका अनुसार यसै साता लण्डनमा हुने दुई दिने उक्त बैठकमा अमेरिका लगायतका कयौ देशका सरकारी अधिकारी, आर्थिक विश्लेषक र अभियोजकहरु सहभागि हुनेछन्।

ब्रिटिस गृहमन्त्रीले यानुकोभिच सरकारको पालामा लुटिएका सरकारी सम्पतिको पहिचान गरि फिर्ता लिन युक्रेनलाई सघाउने बैंठकको उदेश्य हुनेछ।