'हावापानीको गम्भीर असर चार दशकपछि'

  • 29 एप्रिल 2014
खेतिपाती तस्वीर कपीराइट bbc
Image caption हावापानी परिवर्तनका कारण सन् २०६० देखि तराईको कृषि उत्पादन ह्रास आउने बताइएको छ

हावापानी परिवर्तनका कारण सन् २०५० सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादनमा दुईदेखि पाँच प्रतिशतसम्म घाटा लाग्न सक्ने एउटा अध्ययन प्रतिवेदनले देखाएको छ।

यहाँको कृषि र जलविद्युत क्षेत्रमा सन् २०६० तिर हावापानी परिवर्तनका गम्भीर असर देखिन थाल्ने उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ।

हावापानी परिवर्तनको असर न्युनिकरणका लागि सरकारले अहिलेदेखि नै पर्याप्त कदम चाल्नुपर्ने एक जना अध्ययनकर्ताले बताएका छन्।

उत्पादनमा ह्रास

सोमबार राजधानीमा सार्वजनिक उक्त अध्ययन प्रतिवेदनले हावापानी परिवर्तनले खासगरी कृषि र जलविद्युत क्षेत्रमा बढी प्रभाव पार्ने देखाएको छ।

हावापानी परिवर्तनका कारण आगामी चार दशकपछि विशेष गरी तराई क्षेत्रको कृषि उत्पादनमा ह्रास आउन थाल्ने अनि जलविद्युत उत्पादनमा कमी आउने उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कृषि र जलविद्युत उत्पादनमा यसरी ह्रास आउँदा त्यसले समग्रमा मुलुकको कुल ग्राहस्थ उत्पादनलाई प्रभावित पार्ने उक्त अध्ययनमा संलग्न विज्ञहरुले बताएका छन्।

उक्त अध्ययन टोलीका प्रमुख डा. गोविन्द नेपालले भने, "हामीलाई कूल ग्राहस्थ उत्पादनको पाँच प्रतिशतसम्म घाटा हुने देखिएको छ।"

उपाए

यद्यपि हावापानी परिवर्तनको असर, अध्ययनमा आंकलन गरिएकोभन्दा पनि बढी हुन सक्ने अध्ययनकर्ताहरुले बताएका छन्।

अनुकलनका उपायहरु अपनाएको खण्डमा त्यस्ता परिवर्तनका असरहरु कम गर्न सकिने उक्त अध्ययनमा उल्लेख छ।

जोखिम न्युनीकरणका लागि सरकारले चालेका कदमहरु सकारात्मक भए पनि थप उपायहरु अवलम्बन गर्नुपर्नेमा अध्ययनले जोड दिएको छ।

डा. नेपाल भन्छन्, "अहिले नै यो-यो काम गर्नुपर्छ भन्न सकिन्न, दीर्घकालमा देखिने प्रभाव अनुसार नै अनुकुलनका उपाए अवलम्बन गर्नु पर्छ।"

उक्त अध्ययन, सरकारको आग्रहमा वातावरणसम्बन्धि केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुले गरेका हुन्।

देशको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्र र ऊर्जाको मुख्य स्रोतको रुपमा रहेको जलविद्युत नै हावापानी परिवर्तनबाट बढी प्रभावित हुने देखिएकोले अहिलेदेखि नै सचेत हुनुपर्ने विज्ञहरुको राय छ।