अर्घाखाँचीमा बस दुर्घटना हुँदा १८ को मृत्यु

  • 30 एप्रिल 2014
Image caption दुर्घटनामा बर्षेनी सैयौंको मृत्यु हुने गरे पनि दुर्घटनाको न्यूनिकरण हुन सकेको छैन।

बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बुधबार अर्घाखाँचीमा १८ जनाको मृत्यु भएको छ।

घटनामा परी २६ जना भन्दा बढी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सदरमुकाम सन्धिखर्कबाट बुटवल तर्फ आउँदै गरेको यात्रुवाहक बस र सन्धिखर्क तर्फ जाँदै गरेको मिनीट्रक नरपानी भन्ने ठाँउमा एक आपसमा ठोक्किएका थिए।

अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र जिसीका अनुसार बस र ट्रक एक आपसमा ठोक्कीएपछि दुबै गाडी सडकबाट करीब एक सय मिटर तल खसेका थिए ।

अनुमान

दुर्घटनाको कारण थाहा हुन नसकेपनि साँगुरो बाटोमा तीव्रगतिले गाडी चलाउँदा ठोक्किएको अनुमान प्रहरीले गरेको छ।

प्रहरी नायव उपरीक्षक दीपेन्द्र जीसीले भने, “कारण अझै केही खुलेको छैन। दुइवटा गाडी जुधेको हो। साँगुरो बाटोमा घुम्ती परेको छ।”

दुर्घटना भएको सडक एक लेनको मात्र छ र सडकमा सवारीका साधन पास हुनका लागि रोकेरै बाटो दिनुपर्ने अवस्था भए पनि बुधबार त्यसो गरेको पाइएन।

चुनौती

बारम्बार यस्ता दुर्घटना हुनुमा अब कसैलाई दोष दिनु भन्दा पनि दुर्घटनाको यथार्थ कारण खोजेर न्यूनिकरणको प्रयास थालिहाल्नु पर्ने सरोकारवालाहरु बताउँछन्।

बस व्यवसायीहरुको संस्था पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधि खरेलले भने, "हामीले मजदुर, गाडीवाला, सरोकारवालाका तर्फबाट आआफ्ना कुरा राख्छौं। तर मानवीय त्रुटिका कारण हुने दुर्घटनालाई कसरी कम गर्ने, बाटोको कारण हुने दर्घटनालाई कसरी कम गर्ने भन्ने तर्फ, गल्तीका कारणको समाधान के हुने त भन्नेमा छलफल गर्दैनौं।"

तथ्याकंहरुका अनुसार नेपालमा सडक दुर्घटनाकै कारण वर्षेनी १५ सयको ज्यान गईरहेको छ भने दुर्घटनाजन्य मृत्यु र घाईतेको समस्या देशकै जनस्वास्थ्य क्षेत्रमा नयाँ चुनौती बन्दै आएको छ ।

सडक दुर्घटनाको क्रम बढ्दै जाँदा दुर्घटना न्यूनिकरणका प्रयास गर्दै आएको बताइए पनि त्यस्ता प्रयासहरु प्रभावकारी हुन भने सकेका छैनन् ।