कडा सुरक्षा व्यवस्थाबीच इराकमा मतदान

  • 30 एप्रिल 2014
सुरक्षा जाँच गरिंदै तस्वीर कपीराइट Reuters
Image caption इराकमा कडा सुरक्षा व्यवस्थाबीच संसदीय चुनावमा मतदान भैरहेको छ

सन् २०११ मा अमेरिकी सैन्य फिर्ता भएयता इराकमा कडा सुरक्षा व्यवस्थाबीच पहिलोपटक हुनलागेको संसदीय चुनावमा मतदान भैरहेको छ।

झण्डै दुई करोड बीस लाख मतदाताका लागि देशभरि पचास हजार जति मतदान केन्द्रहरु स्थापना गरिएका छन्।

इराक सन् २००८ यताकै सबैभन्दा खराब हिंसाको चरणबाट गुज्रीरहेको बेला यी चुनावहरु हुन लागेका हुन्।

हिंसा

गत साता मात्रै इराकका विभिन्न भागमा भएका हिंसात्मक घटनामा एकसय साठी जनाको ज्यान गएको थियो।

इराकका लागि राष्ट्रसंघीय दूत निकोले म्लादेनोभले यो चुनाव इराकको प्रजातान्त्रिक संक्रमणको एउटा महत्वपूर्ण अध्याय भएको बताए।

उनले भने, "इराकमा एउटा अत्यन्तै कठिन समयमा यो चुनाव भैरहेको छ। गएका केही साताहरुमा सुरक्षा स्थिति निकै बिग्रिएको छ। ठूलो संख्यामा चुनावमा भाग लिएर मात्रै इराकीहरुले आफ्नो मुलुकको भविष्यका बारे आफ्नो भनाइ सुनिश्चित गर्न सक्छन्।"

बगदादस्थित बीबीसीका एकजना संवाददाताले सडकहरु सुनसान रहेको र मानिसहरुमा त्रासको वातावरण देखिएको बताए।

कार बम हमला गरिनसक्ने आशँकाका बीच यातायातमा लगाइएको प्रतिबन्धका कारण मतदाताहरु पैदल नै भोट हाल्न गैरहेका देखिन्थे।

मतदान

अल कायदाबाट छुट्टिएको एउटा समूहद्वारा थालिएको हिंसाका कारण सुन्नी बहुल अनवर प्रान्तका केही भागहरुमा मतदान नहुने जनाइएको छ।

संसदको ३२८ स्थानकालागि झण्डै नौ हजार उम्मेदवारहरु प्रतिस्पर्द्धा गरिरहेका छन्।

प्रधानमन्त्री नुरी अल मलिकीले तेश्रो पटक पनि उम्मेदवारी दिएका छन्। नयाँ सरकारको गठनमा उनले नेतृत्व गरेको शिया गठबन्धनको प्रमुख भूमिका हुने ठानिएको छ।

अघिल्लो आम चुनावपछि इराकमा नयाँ सरकार गठन गर्न झण्डै दश महिना लागेको थियो।

मोलतोल

हाम्रा संवाददाता भन्छन्, यसपटक पनि नयाँ सरकार बनाउन निकै मोलतोल हुने देखिन्छ।

एसोसियटेड प्रेस समाचारसंस्थासंग कुरा गर्दै गत महिना एउटा आत्मघाती बम हमलामा आफ्नो छोरा गुमाएका बगदादका एकजना वासिन्दा एसाम शुक्रले भने, “हामी हाम्रा छोरा र नातीहरुकालागि एउटा राम्रो भविष्य चाहन्छौं। हामी सबै इराकीहरुको जीवन अहिलेको भन्दा राम्रो होस् भन्ने चाहन्छौं।“

तर तीन वर्ष अघि अमेरिकी सैन्य फिर्ती भएपछि पनि शिया तथा सुन्नी मुसलमान समुदायहरुबीच साम्प्रदायिक हिंसा चर्कँदै गएको इराकमा छिट्टै स्थितिमा सुधार आउने कुनै संकेतहरु देखिएका छैनन्।