युक्रेनमा सरकारी भवनमाथी आक्रमण

  • 30 एप्रिल 2014
तस्वीर कपीराइट r
Image caption लुहान्स्क शहरको मुख्य प्रशासनिक भवन बिद्रोहीहरुले कब्जामा लिएका छन

रुस समर्थक बिद्रोहीहरुले पूर्वी युक्रेनको लुहान्स्क शहरका सरकारी भवनहरुमाथी आक्रमण गरी आफ्नो नियन्त्रणमा लिएका छन्।

पूर्वी युक्रेनको तनाव कम नभएपछि अमेरिकी विदेशमन्त्री जन केरीले उतर एटलान्टीक सन्धी संगठन नेटोको लागी युक्रेन संकट खतराको घन्टी भन्दै थप चनाखो हुनुपर्नेमा जोड दिएका छन्।

रुसी राष्ट्रपति भ्लादीमिर पुटीनले सोभियत संघको विघटनपछि रुसको सिमाको निक्कै नजिकसम्म निगरानी गरेको भन्दै नेटोको आलोचना गरेका छन्।

आरोप

अमेरीकाले रुसले पूर्वी र केन्द्रीय युरोपको सुरक्षा अवधारणामा परिवर्तन ल्याउने हिसाबमा आफ्ना गतिविधि सन्चालन गरिरहेको आरोप लगाएको छ।

वासिङटनमा एटलान्टीक काउन्सिलको बैठकमा बोल्दै केरीले बल प्रयोग गरेर रुसले सार्वभौम सिमानाहरु मिच्न खोजेको भन्दै नेटो गठबन्धनले आफ्नो भूभाग रक्षा गर्न कुनै कसर बाँकि नराख्ने बताए।

उनको भनाइ थियो, “यो संकट हाम्रो लागी खतराको घण्टी भएकाले हामीले आफ्ना कामहरुलाई थप तिव्र पारेर अझ बलियो र समृद्ध आन्ध्र महासागर वारीपारीको समुदाय निर्माण गर्ने प्रयासलाई प्रवर्द्धन गर्नुपर्छ, हामीले हाम्रो गठबन्धनको रक्षा खर्च घट्न दिनुहुदैँन्।”

नेटोले जोखिममा रहेका पोलेन्ड र बाल्टीक राज्यहरुमा हवाइ सुरक्षा सुदृढ पार्दै नियमित सैन्य अभ्यासलाई तिव्र पारेको छ।

सोमबार संयुक्त राज्य अमेरिका र युरोपेली संघले युक्रेनमा भैरहेका गतिविधिलाई लिएर रुसी व्यक्ति र कम्पनीहरुमाथी थप प्रतिबन्धहरु लगाएका थियो।

आक्रोश

यसै बिच रुसी राष्ट्रपति पुटिनले देशको उर्जा लगायतका क्षेत्रमा रहेको पश्चिममा राष्ट्रको लगानी माथी पुनर्विचार गर्ने चेतावनी दिएका छन्।

युक्रेनमा भैरहेका गतिविधिबारे उनले भने, “म गम्भिरतापूर्वक घोषणा गर्छू कि त्यहाँ आदेश दिने कोही पनि रुसी छैनन् न नै त्यहाँ कुनै रुसी विशेष दस्ता वा रुसी फौज छन्।"

पुटिनले युक्रेनी आफैँले उनकै शब्दमा बबन्डर श्रृजना गरेको तर त्यसलाई हल गर्न रुसलाई प्रयोग गर्ने प्रयास भएको बताए।

लुहान्स्क शहरमा प्रदर्शनकारीहरुले शहरको मुख्य प्रशासनिक भवन र सरकारी वकिलको कार्यलय नियन्त्रणमा लिएका छन्।

उनीहरुले त्यसपछि प्रहरी मुख्यालय बाहिर स्वचालित हतियार प्रयोग गर्दै गोली चलाएका थिए।

युक्रेनका अन्तरिम प्रधानमन्त्री ओलेक्सान्डर टुर्चिनोभले प्रतिरक्षा कार्वाही नगरेर देश दोह्र गरेको भन्दै स्थानिय प्रहरीको आलोचना गरेका छन्।

युक्रेनका गृहमन्त्री आरसेन आवकोभले तनावका कारण अर्को महिना हुने राष्ट्रपतिय चुनाव पूर्वी युक्रेनमा हुन नसक्ने सम्भावना रहेको बताएका छन्।

अस्पष्ट

मस्कोले झन्डै एक दर्जन शहरमा भएका सरकारी भवनहरुमाथीको धरपकडमा आफ्नो कुनै हात नरहेको र पूर्वी युक्रेनलाई आफूमा गाभ्ने आफ्नो चाहाना नरहेको बताउदैँ आएको छ।

प्रदर्शनकारीहरुले रुसको समर्थनमा नारा लगाउँदै जनमत संग्रह वा थप स्वायत्ता दिइनुपर्ने माग राखिरहेका छन्।

किएभबाट बीबीसीका डेविड स्टर्न भन्छन्, पूर्वी युक्रेनका रुस समर्थक बन्धुकधारीहरुले निरन्तर रुपमा युक्रेनलाई दवावमा राख्ने रणनिति लिएको देखिन्छ।

उनका अनुसार प्रदर्शनकारीहरुको अन्तिम उद्देश्य के हो भन्ने प्रष्ट छैन् तर त्यो आगामी मे २५ तारिखमा हुने राष्ट्रपति चुनाव रोक्ने वा युक्रेनलाई उतेजित तुल्याएर सैन्य हस्तक्षेप गर्ने मस्कोको रणनिति हुन सक्छ।