पूर्वी तराईमा हेपाटाइटिस 'इ' को प्रकोप

  • 1 मे 2014
Image caption गर्मी शुरु भएपछि कोशी अञ्चल अस्पतालमा बिरामीहरुको चाप बढेको छ

गर्मी बढेसँगै पूर्वी नेपालमा सफा पानी र स्वास्थ खानेकुराको कमीले देखा पर्ने विभिन्न रोगको प्रकोप देखा परेपछि सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

केही दिनदेखि विराटनगरमा फैलिएको हेपाटाइटिस 'इ' रोगका कारण सयौं मानिस प्रभावित भएपछि अधिकारीहरुले रोकथामको प्रयासलाई तिव्रता दिएका छन्।

अस्पतालमा विरामीहरुको घुँइचो लागेपछि उपचार बाहेक चिकित्सकहरु थपिएको र सरसफाइबारेको सचेतना अभियान अघि बढाइएको जनाइएको छ।

प्रकोप

विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारमा आउने विरामी मध्ये दैनिक ५० जना भन्दा बढीमा हेपाटाइटिस 'इ' रोगको संक्रमण भेटिएको चिकित्सकहरुले बताएका छन ।

चिकित्सकहरुका अनुसार दुईसाताको अवधिमा मोरंङ र सुनसरीमा जण्डिसका कारण ५ जनाको ज्यान गइसकेको छ।

मोरंङका जनस्वास्थ्य प्रशासक नवराज सुब्बाले रोग फैलँने क्रम नरोकिएकोले त्यसलाई प्रकोपमा रुपमा घोषणा गर्दै रोकथामको पहल थालिएको बताए।

स्थानिय अस्पतालहरुमा हेपाटाइटीस 'इ' बाट संक्रमित विरामीहरुको चाप अप्रत्याशितरुपमा बढेपछि सरकारी अधिकारीहरु त्यसको कारण र रोगथामको उपाय खोज्न थालेका छन ।

खानपान

भाइरसबाट फैलने यो रोगको खासै उपचार नभएकाले खानपानमा सावधानी अपनाउनु पर्ने कोशी अञ्चल अस्पताल बिराटनगरका चिकित्सक दिपक सिग्देलले बताए।

उनी भन्छन्, “भाइरल हेपाटाइटिसबाट जोगिन तीन वटा कुरा गर्दा पुग्छ, हात धोएरमात्र खानेकुरा खानुपर्यो, बाहिर बेचिने खानेकुराहरु खान बन्द गर्नुपर्यो र उमालेको पानी सेलाएर पिउनुपर्यो।”

चिकित्सकहरुका अनुसार हेपाटाइटिस 'इ' हुदै जण्डिसको चरणमा पुगेपछि बिरामीको कलेजोमा गम्भिर असर पार्दछ।

कलेजोले काम गर्न छोडेपछि बिरामीको मृत्यु हुने संभावना बढी हुन्छ ।

प्रकोप बढ्दै गएपछि पर्याप्त चिकित्सकहरुको व्यवस्था, खानेपानीको निर्मलीकरण र सरसफाइका विषयमा र्सार्वजनिक सचेतना फैल्याउने लगायतका कामहरु थालिएको सरकारी अधिकारीहरुले बताएका छन ।