नाइजेरीयाको राजधानीमा कार बम विस्फोटन

  • 2 मे 2014
तस्वीर कपीराइट
Image caption अघिल्लो महिना न्यान्यानै भएको विस्फोटनमा ७० जनाले ज्यान गुमाएका थिए

नाइजेरियाको राजधानी अबुजास्थित एउटा बस स्टेशनमा भएको बम विस्फोटनमा कम्तिमा १९ जनाको ज्यान गएको छ र ६० भन्दा बढी घाइते भएका छन्।

अघिल्लो महिना ७० जनाको ज्यान जाने गरी बम विस्फोटन भएको क्षेत्रलाई नै आक्रमणकारीहरुले आफ्नो पछिल्लो निशाना बनाएका हुन्।

उक्त हमलाको कसैले जिम्मा लिएको छैन् तर आक्रमणमा इस्लामवादी उग्रवादी समूह बोको हरामको हात रहेको ठानिएको छ।

श्रृखलाबद्ध

सो कार बम बिस्फोट राजधानी अबुजाभन्दा बाहिर रहेको न्यान्यामा भएको थियो जुन ७० जनाको ज्यान जाने गरी गएको अप्रिल १४ मा विस्फोटन भएको ठाउँको एकदमै नजिकै छ।

एक जना प्रत्यक्षदर्शी चार्ल्स ओशिकीले बीबीसीसँग भने यसपटक विस्फोटन भएको क्षेत्र अघिल्लो पटक विस्फोटन भएको स्थान भन्दा मात्रै २५० मिटर टाढा थियो।

“भिडबाट मानिसहरु भन्दै थिए कि एक जना मानिस आएर कार रोके र उनी हिँडे त्यसपछि विस्फोटन भएको मात्र उनीहरुलाई थहा छ।”

भिड बसमाथि गरिएको अघिल्लो आक्रमणको जिम्वेवारी इस्लामी उग्रवादी समुह बोकोहरामले लिएको थियो र अहिलेको हमलामा पनि उनीहरुकै हात रहेको आशंका गरिएको छ।

न्यान्या विभिन्न धार्मीक समुदायको मिश्रीत बसोबास छ र त्यहाँ नै किन आक्रमण गरियो प्रष्ट भएको छैन्।

नाइजेरियाको आपतकालिन व्यवस्थापन निकायका प्रमुख अब्बास इदरिसले बीबीसीलाई भने विस्फोटनमा १९ जना मारीएका छन् र अरु ६० जना घाइते भएका छन्।

हिंसा

यसअघि बोको हरामका आक्रमणहरु देशको उतरपूर्वी क्षेत्रमा केन्द्रित थिए।

तर अघिल्लो महिना भएको बिस्फोटनपछी उनीहरु आफ्ना गतिविधि अन्य क्षेत्रमा बिस्तार गर्न इच्छुक बन्दै गएको भनेर चिन्ताहरु व्यक्त भएका छन्।

नाइजेरिया अफ्रिकी महादेशकै सबैभन्दा ठूलो आर्थीक महाशक्ति बनेपछि उसले अर्को हप्ता विश्व आर्थिक मञ्चको बैठक आयोजना गर्न लागेको छ।

चीनीयाँ प्रधानमन्त्री सहित विश्वका कयौं नेताहरु सहभागी हुने उक्त मञ्चको बैठकमा असुरक्षा मुख्य चासो हुनेछ।

गएको महिना एउटा दुर्गम गाउँबाट कब्जा गरिएका विद्यालयमा अध्यनरत दुइ सय किशोरीहरुलाई बोको हरामसँग सम्बन्धीत लडाकूहरुले बन्धक बनाएको ठानिएको छ।

यस बर्ष उतरपूर्वी नाइजेरियामा एक पछि अर्को हमला गरेका उनीहरुले करीव १५ सय सर्वसाधारणको हत्या गरिसकेका छन्।