पहिरोमा हजारौं पुरिएको आंशका

  • 3 मे 2014
तस्वीर कपीराइट BBC World Service
Image caption भिषण बर्षापछी शुक्रबार पहाडको हिस्सा खस्दा एकैचोटी ३ सय घरहरु पुरीएका थिए

उतरपूर्वी अफ्गानिस्तानको बदअक्सान प्रान्तमा गएको एउटा भिषण पहिरोमा हराइरहेका दुई हजार जनाको खोजीकार्य भैरहेको अधिकारीहरुले जनाएका छन्।

भिषण बर्षापछि एउटा पहाडको हिस्सा गाउँमा खसेपछि सयौं घरहरु ढुंगा र माटोमा पुरिएका छन्।

दोस्रो दिनको उद्दार कार्य अघि बढदै गर्दा हराइरहेकाहरुलाई जिवितै फेला पार्न सकिने सम्भावना न्युन रहेको उद्दारकर्ताहरुले बताएका छन्।

क्षति

पहिरोका कारण एक हजार घरहरु प्रभावित भएको र पहाडको हिस्सा खस्दा ३ सय घरहरु तत्कालै पुरिएको जनाइएको छ।

स्थानिय प्रहरी कमान्डर फजलुदिन आयाजले बीबीसीलाई भने करिव २१५ परिवार बस्ने हार्गु गाउँ नै ढुंगा र माटोले पुरिएको छ।

माटोको थुप्रोमा पुरिएका मानिसहरुको जिवितै उद्दार गर्ने सम्भावना निक्कै कम रहेको उनले बताए।

उनले भने, “अब हामी विस्तापित मानिसहरुलाई मात्र सहयोग गर्न सक्छौ, ज्यान गुमाएका र पहिरोमा पुरिएका मानिसहरुको लागी अब हामी केही गर्न सक्दैनौ, उनीहरु सबै मरिसके।”

पछिल्ला दिनहरुमा पूर्वी र उतरी अफगानिस्तानमा भिषण पानी परेको छ र करीव डेढ सय जनाले बाढीमा ज्यान गुमाएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार मतृकको संख्या बढेर साढे तिन सय पुगेको छ र ठूलो संख्यामा मानिसहरु बिस्थापित भएका छन्।

राष्ट्रसंघिय मानविय साहयता सम्बन्धी निकायले पहिरोमा पुरिएका हुनसक्ने मानिसहरुको खोजिको लागी अधिकारीहरुलाई सहयोग गरिरहेरको जनाइएको छ।

कठिनाइ

सो प्रान्तका गभर्नरले पर्याप्त बेल्चाहरु नहुँदा उद्दारकार्य कठिन भैरहेको भन्दै सहयोगको लागी अपिल गरेका छन्।

ताजाकिस्तान, पाकिस्तान र चिनको सिमामा पर्ने सो पहाडी क्षेत्रमा मौसम खराब रहेकाले उद्दार कार्य प्रभावित भएको जनाइएको छ।

काबुलबाट बीबीसीका सम्वाददाता डेभिड लोयन भन्छन्, विकसित देशमा समेत पहिरोमा पुरिएका मानिसहरुको उद्दार कार्य कठिन मानिन्छ र संसारकै गरिव मध्येको देशको अत्यन्तै विपन्न क्षेत्रमा आएको पछिल्लो विपतको वास्तविक क्षतिको विवरण आउन हप्तौं लाग्नसक्छ।

उद्दारमा तैनाथ प्रहरीका गाडीहरुले चिसोमा रात बिताएका मानिसहरुलाई पानी र पाउरोटी बाँडेको थियो।

संयुक्त राष्ट्रसंघले उद्दारकार्यको लागि क्षतिको मुल्यांकन गर्न उक्त क्षेत्रमा टोली पठाएको छ।