बन्धक बनाइएका सैन्य पर्यवेक्षकहरु रिहा

  • 3 मे 2014
तस्वीर कपीराइट AP
Image caption रिहा भएका पर्यवेक्षकहरुले घर फर्कन आतुर रहेको बताएका छन्

पूर्वी युक्रेनमा एक साताअघि बन्धक बनाइएका सात जना अन्तर्राष्ट्रिय सैन्य पर्यवेक्षकहरु रिहा भएका छन्।

उनीहरुसँगै नियन्त्रणमा लिइएका पाँच जना युक्रेनी अधिकारीहरु पनि रिहा भएका छन्।

ती पर्यवेक्षकहरु, अर्गनाइजेशन फर सेकुरिटि एन्ड कोअपरेशन इन युरोप अर्थात सुरक्षा र सहयोग सम्बन्धी युरोपेली संगठनसँग आबद्ध रहेको बताइएको छ।

स्लोभियान्स्कस्थित रुस समर्थक पृथकतावादीहरुले ती पर्यवेक्षकहरुलाई विना शर्त रिहा गरेको बताएका छन्।

दुखदायी

रिहा भएकामध्ये एक जना जर्मन कर्णेल अक्सेल स्नाइडरले भने, ‘’ वाचा गरिए अनुसार हामीलाई जतिसक्दो राम्रो व्यवहार गरिएको थियो। यो दुखदायी अवस्था हो तर हामी उनीहरुकै सुरक्षामा थियौं।‘’

पश्चिमा मुलुकहरुले ती पर्यवेक्षकहरुको अपहरणको निन्दा गरेका थिए।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार उनीहरुको रिहाइको आग्रह गर्दै बन्धक बनाउनु लज्जास्पद कार्य भएको बताएका थिए।

रुसले जारी तनावमा पश्चिमा मुलुकहरुको हात रहेको आरोप लगाउँदै पृथकतावादीहरुमाथि अब आफ्नो कुनै प्रभाव नरहेको बताएको छ।

मस्कोले दक्षिण-पश्चिमी शहर ओडेस्सामा ३६ जना मानिसको ज्यान जाने गरी शुक्रबार भएको हिंसामा कियभ र पश्चिमा मुलुकहरु जिम्मेवार रहेको पनि आरोप लगाएको छ।

पुष्टि

उक्त युरोपेली संगठन र पूर्वी युक्रेनस्थित विद्रोही नेता भ्याचेस्लाभ पोनोमार्योभले पर्यवेक्षकहरुको रिहाइको पुष्टि गरेका छन्।

पोनोमार्योभले भने, ‘’मैले उनीहरुसित वाचा गरेअनुसार हामीले शुक्रबार मेरो जन्मदिन मनायौं र उनीहरु फर्के। मैले भनेजस्तै उनीहरु मेरा पाहुना थिए।‘’

रुसले रिहाइका लागि वार्ता गर्न आफ्नो दुत पठाएको थियो।

पृथकतावादीहरुले स्वेच्छिक रुपमा गरेको उक्त कार्यपछि कियभले पनि समान ढंगको काम गर्ने रुसी दुत भ्लादिमिर लुकिनले विश्वास व्यक्त गरे।

उनले भने, ‘’सैन्य कारवाही अन्त्य गरिए राम्रो हुनेछ।‘’

मस्कोस्थित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले भने, ‘’अहिलेदेखि रुसले साच्चिकै ती मानिसहरुमाथि आफ्नो प्रभाव गुमाइसकेको छ। किनभने ज्यानको प्रत्यक्ष खतरा देखेका उनीहरुलाई हतियार बिसाउनका निम्ति फकाउन गाह्रो छ।‘’