सबै प्रस्तावित न्यायाधीश विरुद्ध उजुरी

  • 4 मे 2014
Image caption सर्वोच्च अदालतको रिक्त न्यायाधीशहरुमाथि संसदीय सुनुवाइका लागि उजुरी हाल्ने समय समाप्त भएको छ

सर्वोच्च अदालतको स्थायी न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्ले सिफारिस गरेका आठ जनाविरुद्ध निर्धारित समयभित्र १८ वटा उजुरी परेको संसदीय सुनुवाई विशेष समितिले जनाएको छ।

उनीहरुविरुद्ध बहुविवाहदेखि रकम लिएर फैसला गरेको आरोप लगाइएको छ।

उजुरीहरुको सारसंक्षेप तयार पारिसकेको समिति सचिवालयले पहिलो बैठकमा सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिने समितिका एक अधिकारीले बताएका छन्।

उजुरीका लागि संसदीय सुनुवाई विशेष समिति सचिवालयले उपलब्ध गराएको १० दिने समयावधि शनिबार साँझ पाँच बजे सकिँदासम्म १८ वटा उजुरी परेका थिए।

सफाइ

आफु विरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ क्रममा प्रस्तावित न्यायाधीशहरुले सफाइ दिने मौका पाउँछन्।

एउटै उजुरीमा स्थायी न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका एक जनाभन्दा बढीलाई लक्षित गरिएको समितिले जनाएको छ।

समितिका सचिव ध्रुवप्रसाद घिमिरे भन्छन्, "वैद्यनाथ उपाध्यायलाई चार वटाले लक्षित गरेका छन्, गोपाल पराजुलीलाई सात वटा छ, दिपकराज जोशीलाई दुई वटाले लक्षित गरेका छन्, गोविन्द उपाध्यायलाई दुई वटाले, ओमप्रकाश मिश्रलाई एउटाले, देवेन्द्रगोपाल श्रेष्ठको विरुद्धमा एउटा, चोलेन्द्र समशेर जबरालाई ६ वटाले लक्षित गरेका छन् भने जगदीश शर्मा पौडेलविरुद्ध दुई वटा उजुरी परेका छन्।"

घिमिरेका अनुसार सबैभन्दा बढी उजुरी परेका गोपाल पराजुलीमाथि कानून विपरित अपराधीलाई उन्मुक्ति दिनुका साथै बहुबिवाह गरेको आरोप लगाइएको छ भने चोलेन्द्रसमशेर जबराले भ्रष्टाचारीलाई उन्मुक्ति दिएको आरोप उजुरीमा छ।

बचाउ

यसैगरी गोविन्द उपाध्यायले पियनकै तलब खाइदिएको आरोप लगाइएको छ।

सचिवालयमा दर्ता भएका सबै उजुरीको सारांश तयार पारिसकेको घिमिरे बताउँछन्।

उनले पहिलो बैठकलाई प्रारम्भिक छलफल भन्दै उजुरीको प्रतिलिपि र सारसंक्षेप अध्ययनका लागि सदस्यहरुलाई उपलब्ध गराउने बताएका छन्।

सिफारिसको बचाउ गर्दै न्याय परिषद्का केही सदस्यहरुले त्यसबारे अनावश्यक विवाद झिकिएको बताउँदै आएका छन्।

सिफारिस गरिएका नामहरु समितिले अनुमोदन गरेपछि मात्र प्रधानन्यायाधीशले उनीहरुलाई नियुक्त गर्ने कानूनी व्यवस्था छ।

यसअघि वकिलहरुको छाता संगठन नेपाल बार एसोसिएशनले सिफारिस गरिएका नामहरुबारे पुनर्विचार गर्न समितिलाई आग्रह गरिसकेको छ।