दु:खदभन्दा सुखद सम्झना स्थायी

  • 5 मे 2014
holiday तस्वीर कपीराइट SPL
Image caption एउटा सुखद छुट्टीको तुलनामा त्यसअघि हुन सक्ने दु:खद उडान ढिलाइ बिर्सने सम्भावना ज्यादा हुन्छ

किन हामी कुनै चीज राम्ररी सम्झना राख्न सक्छौं भने कुनै चाहि बिर्सन्छौं?

अनुसन्धानकर्ताहरुले भनेका छन्, सुखद सम्झनाहरु दु:खदका तुलनामा धेरै समयसम्म मानिसहरुको मनमस्तिष्कमा रहिरहने देखिएको छ जसका कारण मानवजातिलाई खुशी र सहनशील बनाउन सघाउ पुगेको छ।

मनोवैज्ञानिकहरु भन्छन्, राम्रो सम्झनाहरु आत्मसात गरिरहंदा र नराम्रालाई छाडिदिंदा खराब अवस्थाहरुसंग जुध्न तथा जीवनमा सकरात्मक दृष्टिकोण राख्न मद्दत पुग्छ।

अनुसन्धान

दु:खद सम्झनाहरु छिटो बिर्सदैं गइन्छ भन्ने अवधारणा ८० वर्षअघि पहिलोपल्ट आएको थियो।

१९३० को दशकमा मनोवैज्ञानिकहरुले मानिसहरुको जीवनमा भएका घटनाहरु जस्तै छुट्टीको समय आदिको सम्झनाबारे खोज गरेका थिए जसमा उनीहरुले सुखद र दु:खद भनेर ती घटनालाई विभाजन गरेका थिए।

केही सातामै अनुसन्धानकर्ताहरुले आफ्ना सम्झनाहरुबारे बताउन ती मानिसहरुलाई अचानक भनेका थिए।

दु:खदमध्ये करिब ६० प्रतिशत बिर्सिएको र सुखद सम्झनाहरुमध्ये केवल ४२ प्रतिशत मात्रै बिर्सिएको देखियो।

यो कुरा तपाई हामीहरुमध्ये धेरैले महसुस गरेको विषय हो।

जस्तो कि एउटा छुट्टीपछि हामीले बाहिर बिताएका सुखद क्षण र भेटिएका मानिसहरुबारे सम्झना गर्न सक्छौ होला तर उडान ढिलाइ कतिको दिक्कलाग्दो थियो भन्ने बिर्सन सक्छौं।

तर सुखद र दु:खद कुरा भन्नमात्रै लगाइंदा सुखद कुरा बढी भन्ने सम्भावना ‘फेडिंग एफेक्ट बायस’ (एफएबी) धेरै भएकाले ११९७० को दशकमा बेग्लै खालको अनुसन्धान गरियो।

यसमा सहभागीहरुलाई नियमित डायरी राख्न भनियो जसबाट उनीहरुको भावनात्मक सघनता मापन गर्न सकियोस्।

तर ८० प्रतिशत जसो मनोवैज्ञानिक अनुसन्धानहरु अमेरिकी विद्यार्थीमाथि गरिएकाले त्यो अवस्था अन्य संस्कृतिमा पनि लागू हुन्छ वा हुंदैन त्यो भने प्रष्ट थिएन।

विश्वव्यापी

यो विश्वव्यापी हो कि होइन भनेर हेर्नका लागि आयरल्याण्ड विश्वविद्यालयका टिमोथी रिट्चीले हालै संसारका विभिन्न छ वटा विश्वविद्यालयका अध्येताहरुले संकलन गरेका नमूनालाई विश्लेषण गर्ने निर्णय गरे।

ती अध्येताहरुले अंग्रेजी बोल्ने विभिन्न समूहहरु जस्तै अफ्रिकन अमेरिकन, जर्मन तथा मूलनिवासी अमेरिकीबाट प्रतिक्रिया लिएका थिए। साथै घाना, आयरल्याण्ड र न्यूजिल्याण्डका मानिसहरुका प्रतिक्रिया पनि समावेश थिए।

विभिन्न १० मुलुकका ५ सय ६२ व्यक्तिले उल्लेख गरेका २४०० जति विविध सम्झनाहरु समावेश गरिएको थियो।

न्यूजिल्याण्ड र घानाबाट ३० वर्ष मुनिका सहभागीहरु थिए भने जर्मनी र आयरल्याण्डबाट केही वृद्ध पनि सहभागी थिए।

धेरैलाई उनीहरुको जीवनका सुखद र दु:खद दुवै घटनाहरु याद गर्न भनिएको थियो।

यो अनुसन्धानबाट सकरात्मक कुरा धेरै सम्झने र नकरात्मक कुरा छिटो बिर्सिएको देखियो।

यसको अर्थ हो सांस्कृतिक भिन्नताका बाबजुद पनि अवस्था उस्तै रहेछ।

यसले मानिसहरुलाई नकरात्मक सोचबाट छिटो बाहिर आउन र बद्लिदो अवस्थासंग आफूलाई ढाल्न मद्दत गर्ने विश्वास अनुसन्धानकर्ताहरुले गरेका छन्।