एमाओवादीको नेतृत्व चयनमा ढिलाई

  • 5 मे 2014
Image caption कमजोर देखिएका नेताहरु चुनावबाट भाग्न खोजेको संस्थापन पक्षका नेताहरुको आरोप छ।

सानो आकारको बनाउने भनिएको केन्द्रिय समितिमा बाँडफाँडको कुरा नमिल्दा एकीकृत नेकपा माओवादीको नेतृत्व चयनमा ढिलाई भएको छ।

सहमतिका आधारमा नेतृत्व चयनका लागि आईतबारदेखि थालिएको भनिएको प्रयास सोमबार साँझसम्म सफल हुन सकेन।

सानो आकारको केन्द्रिय समितिमा भागबण्डा मिलाउन वरिष्ठ नेताहरुहरुलाई हम्मेहम्मे परेको बताइएको छ।

सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित नहुँदै नेताहरु नेतृत्व चयनको प्रक्रियामा जुटेका थिए।

नेतृत्व

नेताहरु सम्मेलनस्थल नगई होटल बैठकमा व्यस्त भएपछि सोमबार दिनभर बन्दसत्रमा कुनै छलफल हुन सकेन।

सोमबार बिहान बसेको केन्द्रिय कार्यालय र सम्मेलन मूल आयोजक कमिटीको बैठकले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पूर्वमहासचिव पोष्टबहादुर बोगटीलाई सहमतिको नामावली तयार गर्न जिम्मेवारी दिएको थियो।

उनीहरुले प्रस्ताव गरेको नाममाथि छलफल भइरहेको पार्टी प्रवक्ता दिनानाथ शर्माले बताए।

उनले भने, ''केन्द्रिय कार्यालयको तर्फबाट एउटा प्रस्ताव पेश भएको छ। त्यसबारे आयोजक समितिमा छलफल भईरहेको छ।''

बाँडफाँड

पार्टी विधान संशोधन गरी सानो आकारको केन्द्रिय समिति बनाउनपर्ने भएकाले शीर्ष नेताहरुलाइ अप्ठयारो परेको प्रवक्ता शर्माले बताए।

उनले भने, ''यहाँ हामी को बस्ने, को नबस्ने भन्ने अप्ठयारो छ। २ सय ६८ जना केन्द्रीय सदस्यबाट ९९ जना बनाउनुपर्ने छ। त्यसो हुनाले यो चानचुने कुरा होईन।''

विशेष गरी शीर्ष नेताहरुबीच केन्द्रिय नेतृत्वको पदहरुमा बाँडफाँडसम्बन्धी कुरा नमिल्दा राष्ट्रिय सम्मेलनको बैठक लम्बिएको छ।