'आन्दोलनकारी नेतृ रिहा'

  • 5 मे 2014
अपहरितका परिवारजन तस्वीर कपीराइट AP
Image caption अपहरित बालिकाका अभिभावकहरुले उद्धारमा ढिलाइ भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नाइजेरियामा इस्लामवादी उग्रवादी समूह बोको हरामद्वारा अपहरित सैयौं छात्राहरुलाई मुक्त गराइयोस् भन्ने माग गरिरहेका आन्दोलनकारी नेतृहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

नाइजेरियाका राष्ट्रपतिकी पत्नी पेसेन्स जनाथनले बोलाएको एक बैठकमा भाग लिएपछि नाओमी मुताह तथा अन्यलाई एउटा प्रहरी चौकीमा लगिएको थियो।

प्रहरी अधिकारीहरुले दुईजनालाई केही अघि र मुताहलाई सोमबार अपरान्ह रिहा गरिएको जनाएका छन्।

ती महिलाहरु छात्राहरु हराइरहेको जिल्लाका वासिन्दा हुन्।

राजधानी अबुजामा आयोजित विरोध कार्यक्रमकी एकजना आयोजक हादिजा उस्मानले २०० भन्दा बढी किशोरीहरु अपहरण गरिएको एक्काइस दिन बितीसक्दा पनि सरकारले एकजनालाई पनि उद्धार गर्न नसकेको भन्दै आलोचना गरिन्।

त्यस्तै अपहरित एकजना छात्राकी आमाले भनिन्, "उनीहरुलाई अपहरण गरिएपछि हामीलाई निकै गाह्रो भैरहेको छ। दिउँसो त मानिसहरु हामीप्रति सहानुभूति व्यक्त गर्न आउँछन्। तर राती हामी सबे परिवार जागा बस्छौं र आफ्नी छोरी र उनका साथीहरुको अवस्था बारे चिन्ता गरिरहन्छौं।"

आलोचना

उक्त संकटसंग जुध्न ठोस काम गर्न नसकेको भनी राष्ट्रपति गुडलक जनाथनको आलोचना गरिएको छ।

राष्ट्रपति जनाथनले देशको उत्तरपूर्वी भागबाट अपहरित स्कूले छात्राहरुलाई सकुशल रिहा गराउने वचन दिएका छन्।

उनले तीन साता अघि भएको दुई सयभन्दा बढी छात्राको अपहरणबारे पहिलो पटक सार्वजनिक रुपमा मुख खोलेका हुन्।

एउटा टेलिभिजन मार्फत प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपतिले भने, “बालिकाहरु जहाँ सुकै हुन, हामीले पक्का उनीहरुलाई बाहिर ल्याउने छौं, यो हाम्रो प्रण हो।”

स्थल सेना र वायु सेनाद्वारा गरिएको खोजिका माझ पनि ती छात्राहरु फेला नपरेको र कहाँ छन् भन्ने पत्ता लगाउन नसकेको पनि उनले स्वीकारे।

छात्राहरुको रिहाइको निम्ति अमेरिका र अन्य देशहरुबाट सहयोग खोजिरहेको जानकारी पनि उनले दिए।

अपहरण

यसै बीच इस्लामवादी उग्रवादी समूह बोको हरामले झण्डै तीन साता अघि दुईसय भन्दा बढी नाइजेरियाली छात्राहरुलाई अपहरण गरेको पहिलोपटक स्वीकार गरेको छ।

बोको हरामका उग्रवादी नेता अबुबकर शेकाउले उत्तरी नाइजेरियामा दुईसयभन्दा बढी स्कुले छात्राहरुको अपहरणमा आफ्नो समूह जिम्मेवार रहेको स्वीकारेका छन्। एएफपि समाचार संस्थाले उनको स्वीकारोक्ति सहितको भीडियो आफुले प्राप्त गरेको जनाएको छ।