नाइजेरियामा थप किशोरीको अपहरण

  • 7 मे 2014
तस्वीर कपीराइट AFP
Image caption इश्लामवादी कट्टरपन्थि लडाकुहरुले किशोरी अपहरण गरेको जिम्मा एउटा भीडियो मार्फत लिएका छन्

शंकास्पद बोको हराम इश्लामवादी लडाकुहरुले उत्तर पूर्वी नाइजेरियाबाट थप आठजना किशोरीहरु अपहरण गरेका छन्।

बोर्नो राज्यको वाराबे गाउँबाट आइतबार राती पछिल्लो अपहरण गरिएको बताइएको छ।

अपहरणमा परेका युवतीहरु १२ देखि १५ वर्ष उमेरका छन्।

सोमबार बोको हरामका नेताले स्कूलबाट अपहरण गरिएका २३० जना युवतिहरु विक्रि गरिदिने धम्की दिएका छन्।

सहयोग स्वीकार

यसैबीच अमेरिकाले भनेको छ, नाइजेरियाले अमेरिकी सहयोग स्वीकार गरेको छ।

राष्ट्रपति बाराक ओबामाले भनेका छन् हामीले एउटा समुह नाइजेरिया पठाइसकेका छौं।

ओबामाले भनेका छन् त्यो समुहमा सेना र कानुन कार्यान्वयन गर्न सघाउने अधिकारी लगायत छन् र हामी ति युवतीहरु कहाँ हुन सक्छ्न भन्ने पत्ता लगाउन खोजीरहेका छौं।

अबुजामा अपहरणमा परेका युवतीको रिहाइको माग गर्दै मंगलबार सडकमा प्रदर्शन भएको छ।

ओबामाले बोको हरामलाई खराब क्षेत्रीय आतंककारी संगठन भनेका छन्।

बोको हराम विद्रोहले सन २००९ यता हजारौं मानिसको ज्यान गइसकेको छ।

प्रभाव क्षेत्र

अबुजामा रहेका बीबीसीका मन्सुर लीमनले भन्छन् वारावे वरपरको क्षेत्र इश्लामवादी आन्दोलनको प्रभाव क्षेत्र हो।

दुइवटा ट्रकमा आएका बन्दुकधारीले गाउँलेहरुबाट जनावर खाद्यान्न पनि लगेका थिए।

उक्त क्षेत्रमा सन्चार सम्पर्कको स्थिति कमजोर रहेकाले युवतीहरु अपहरणमा परेको समाचार आउन लामो समय लागेको हाम्रा संवाददाताले बताएका छन्।

अमेरिकी विदेश मन्त्री जोन केरीले भनेका छन्, अमेरिका नाइजेरियालाई जस्तो सुकै सहयोग उपलब्ध गराउन तयार छ।

वारावे नजिकका अरु गाउँ पनि बोको हरामले लक्षित गराउन सक्ने भन्दै आफुहरु त्रस्त बनेको स्थानीयबासीले बताएका छन्।