थाइ अदालतद्वारा प्रधानमन्त्री पदमुक्त

  • 7 मे 2014
विरोध तस्वीर कपीराइट AP
Image caption राजधानी बैङ्ककमा महिनौंदेखि सरकार विरोधी प्रदर्शनहरु भैरहेका थिए

थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री यिङलक शिनावाटलाई शक्तिको दुरुपयोग गरेकोमा दोषी ठहराउँदै तत्काल पद त्याग गर्न आदेश दिएको छ।

अदालतले सन् २०११ मा आफ्ना एकजना नातेदारकालागि स्थान बनाउन प्रधानमन्त्री यिङलकले एकजना वरिष्ठ सरकारी अधिकारीलाई सरुवा गर्दा संविधानको उल्लँघन गरेको ठहर गरेको छ।

गएको छ महिना भन्दा बढी समयदेखि राजनीतिक संकट व्यहोरिरहेको थाइल्याण्डमा अदालतको फैसलाले नयाँ मोड ल्याइदिएको छ।

संवैधानिक अदालतले प्रधानमन्त्री यिङलकले तीन वर्ष अघि विपक्षी सरकारका पालामा नियुक्त गरिएका राष्ट्रिय सुरक्षा प्रमुखलाई सरुवा गरेर आफ्नो अख्तियारको दुरुपयोग गरेको ठहर ग-यो।

निर्णय

अदालतले त्यस्तो निर्णय गरेर प्रधानमन्त्रीले आफ्ना एकजना नातेदारकालागि स्थान बनाएको पनि जनायो।

एकजना न्यायाधीशले भने, "प्रधानमन्त्रीको हैसियत अब सकिएको छ। उनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि संहाल्न सक्दैनिन्।"

गत वर्ष नोभेम्बारदेखि उनको राजीनामाको माग गर्दै विपक्षीहरुले देशव्यापी आन्दोलन चलाइरहेका थिए।

बैङ्ककस्थित हाम्रा संवाददाता भन्छन्, विपक्षी समर्थकहरुले उक्त फैसलालाई आफ्नो जीत भन्दै खुसियाली मनाएका छन् भने कतिपयले यसलाई राजनीतिक प्रकृतिको पनि भनेका छन्।

संवैधानिक अदालतले तत्कालिन राष्ट्रिय सुरक्षा प्रमुख थाविल प्लियन्स्रीलाई सरुवा गर्ने काममा मिलेमतो गरेको भन्दै अन्य नौ जना मन्त्रीहरुलाई पनि पद त्याग गर्न आदेश दिएको छ।

त्यसपछि बाँकी बचेका मन्त्रिहरुको एक बैठकले वाणिज्य मन्त्री निवाथामरङ बुनसङपैसानलाई कार्यवाहक प्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री यिङलकका एकजना सल्लाहकार नोपाद्दोन पत्तमाले भने, "संविधानले अदालतको निर्णय सबैपक्षलाई वाध्यात्मक हुने भनेको छ, यद्यप‌ि हामीले राजनीतिक विरोध भने गर्नेछौं।"

गएको फेब्रुअरी महिनामा आयोजित मध्यावधि चुनावलाई अदालतले गैरकानुनी ठहर गरीदिएपछि यसै महिनाको शुरुमा सरकारले आउँदो जुलाई महिनामा आम चुनाव गराउने घोषणा गरेको थियो।

सँकट

विपक्षी डेमोक्रयाटिक पार्टीका उपनेता कियत सितियामामोर्नले भने अदालतको फैसलाले राजनीतिक सँकट अन्त्य गर्नेछैन।

उनको दलले चुनाव अघि नै राजनीतिक सुधारहरु गरिनुपर्ने माग गरिरहेको छ।

यिङलकका दाजु ताक्सिन शिनावाटलाई थाइ सेनाले सन् २००६ मा सत्ताच्युत गरीदिए यता थाइल्याण्डमा सत्ता संघर्ष जारी रहेको छ।

खासगरी थाइल्याण्डको ग्रामीण क्षेत्रमा उनी र उनको दल निकै लोकप्रिय छन्।

उनलाई सत्ताबाट हटाइए पछि गराइएका दुबै आमचुनावमा उनको दलले बहुमत ल्याएको थियो।

तर शहरी क्षेत्रका मध्यमवर्गीय मतदाताभने ताक्सिन र उनको परिवारलाई घृणा गर्दछन् र उनीहरु भ्रष्टाचार तथा सत्ता दुरुपयोगमा संलग्न भएको आरोप लगाउँछन्।